नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र नाट्य महोत्सव एकै समयमा, दर्शकले नाटक रोज्लान् कि चलचित्र ?

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) र नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) एकै समयमा हुने भएका छन् । यी दुई महोत्सवमा चासो राख्ने दर्शकका लागि केही असहज अवस्था सिर्जना हुनसक्ने देखिएको छ ।
एक दिनको फरक परे पनि दुबै महोत्सव एकै अवधिमा आयोजना गरिनु दर्शकका लागि अफ्ठ्यारो पर्ने देखिएको हो । चलचित्र र नाटक दुवैमा रुचि राख्ने दर्शकहरूलाई एकै समयमा दुई कार्यक्रमबीच छनोट गर्नुपर्ने स्थिति देखिएको छ ।
निफको आठौँ संस्करण चैत ७ देखि ११ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ भने निटफेस्टको तेस्रो संस्करण चैत ६ देखि १४ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ ।
फरकफरक समयमा गर्ने प्रयास गरे पनि दुवै पक्ष पछि नहटेका हुन् । नाटक महोत्सव इन्टरनेसनल रंगमञ्च दिवसको अवसर पारेर आयोजना गरेको भन्दै मण्डला थिएटर पछि हट्न नमानेको बताइएको छ ।
निफ आयोजकले आफूले पहिला महोत्सवको मिति घोषणा गरेको भन्दै पछि हट्न नमानेपछि अन्ततः एकै समयमा दुईवटा महोत्सव हुने भएको हो ।
निफको आठौँ संस्करणमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने यो महोत्सवमा ४० देशका ८७ चलचित्र प्रदर्शन गरिनेछ । बुसान, कान्स, लोकार्नो, बर्लिनजस्ता प्रतिष्ठित महोत्सवहरूमा प्रदर्शन भइसकेका चलचित्रहरू पनि महोत्सवमा देखाइनेछन् ।
निफ महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, राजनीतिज्ञ तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूबीच छलफल तथा कार्यशाला हुनेछन् । प्रविधिको विकासलाई आत्मसात् गर्दै यस संस्करणदेखि एआई प्रविधिबाट बनाइएका वा सोसम्बन्धी विषयमा बनेका चलचित्रको प्रतिस्पर्धा समेत राखिएको छ ।
सिभिल मल र छाया सेन्टरका हलमा छानिएका चलचित्रहरू प्रदर्शन गरिनेछन् भने पर्यटन बोर्डको हल र राष्ट्रिय सभागृहमा विभिन्न छलफल तथा कार्यशाला सञ्चालन गरिनेछ ।
महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड तथा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ ।
यसैगरी, एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद तथा ट्रफी, उत्कृष्ट सर्ट फिल्म र वृत्तचित्रलाई ५०–५० हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।
त्यसैगरी, मण्डला थिएटरको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) चैत ६ गतेदेखि १४ गतेसम्म हुनेछ । ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ भन्ने नारासहित हुने निटफेस्ट काठमाडौंका साथै विभिन्न सहरमा समेत आयोजना गरिनेछ ।
मण्डला थिएटर नेपाल तथा निटफेस्ट संयोजन समूहले कलाकार दयाहाङ राईलाई महोत्सव निर्देशकका रूपमा चयन गरेको छ भने रंगकर्मी केदार श्रेष्ठ महोत्सव संयोजकका रूपमा रहनेछन् ।
निटफेस्ट महोत्सव विश्व रंगमञ्च दिवस (मार्च २७) का दिन समापन गरिनेछ । यस महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आह्वान गरिएको थियो ।