परिवारलाई धम्की दिने व्यक्तिविरुद्ध साइबर ब्युरो पुगे कमेडियन सजन श्रेष्ठ

काठमाडौं । कमेडियन सजन श्रेष्ठले आफू र आफ्ना दिदीबहिनीलाई बलात्कारको धम्की दिने व्यक्तिविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन् । उनले आइतबार फेसबुकमा पोस्ट गर्दै रिदय ताम्राकार नामको फेसबुक अकाउन्टबाट आएको धम्कीविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।

सजन श्रेष्ठले आफ्नो परिवार असुरक्षित रहेको भन्दै दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही गर्न माग गरेका छन् ।

उनको भनाइअनुसार फागुन ४ गते फेसबुकमा अपलोड गरिएको भिडियोपछि रिदय ताम्राकार नामक फेसबुक प्रोफाइलले उनको परिवारको फोटो राख्दै धम्की दिएको थियो । पछिल्ला घटनाक्रमले मानसिक तनाव बढाएको भन्दै उनले आफू एन्जाइटीको औषधि सेवन गरिरहेको समेत उल्लेख गरेका छन् ।

“आज मेरो परिवारलाई बलात्कारको धम्की दिने मानिसलाई मैले साइबर ब्युरोमा मुद्दा दर्ता गरेको छु । यो मानिस जहाँ गए पनि कानुनको दायरामा ल्याउने छु,” श्रेष्ठले उजुरीको फोटो राख्दै फेसबुकमा लेखेका छन् ।

श्रेष्ठले यसअघि शनिबार एक भिडियो सार्वजनिक गर्दै आफूलाई विभिन्न किसिमका धम्कीहरू आइरहेको खुलासा गरेका थिए । उनले सुशान्त प्रधानको पोडकास्टमा गायक कुमा सागरको लवजमा गीत गाएका थिए। सोही क्रममा निस्किएको एक शब्दलाई लिएर केही अभियन्ताहरूले विवाद सिर्जना गरेका थिए । विवाद बढ्दै गएपछि श्रेष्ठले भिडियो पोस्ट गर्दै गल्ती भएको स्वीकार गर्दै माफी मागेका थिए ।

तर, सोही भिडियोमा केही व्यक्तिहरूले श्रेष्ठ र उनका परिवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेका थिए । तीमध्ये एक व्यक्तिले दिदीबहिनीलाई बलात्कारको धम्की दिएका थिए, जसविरुद्ध श्रेष्ठले उजुरी दिएका छन् ।

श्रेष्ठका अनुसार उनले गायक कुमा सागरलाई पनि सम्पर्क गरी माफी मागिसकेका छन् । तर, विवादलाई नेवारी समुदायसँग जोडेर विभिन्न कन्टेन्ट क्रिएटर तथा कलाकारहरूले चर्को आलोचना गरिरहेका छन् ।

गत साता सजन श्रेष्ठ, उत्सव सापकोटा, सुशान्त प्रधानलगायतका विरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो ।

यसैबीच, आफूलाई नेवाः अभियन्ता बताउने समूहले कमेडियन सजन श्रेष्ठ, उत्सव सापकोटा, सुजन जिम्बा र पोडकास्टर सुशान्त प्रधानविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा निवेदन दिएका थिए । प्रहरीले यस घटनामा अनुसन्धान भइरहेको जानकारी दिएको छ। प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उजुरीका विषयमा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

यसअघि पनि नेवारी समुदायलाई व्यंग्य गरेको आरोपमा झण्डै दुई वर्षअघि पक्राउ परेका कमेडियन अपूर्वक्षितिज सिंहले सजन श्रेष्ठको पक्षमा समर्थन जनाएका छन् ।