‘पिताम्बर’को खलनायक को हो ?

काठमाडौं । नयाँ वर्षको अवसर पारेर चलचित्र ‘पिताम्बर’ रिलिज हुँदै छ । कृषा चौलागाईंको निर्देशन रहेको चलचित्र ‘पिताम्बर’ चैत २९ गते रिलिज हुनेछ ।

‘पिताम्बर’मा कलाकारको बलियो लाइनअप छ । अहिले बजारमा रुचाइएका धेरै कलाकार यो सिनेमामा छन् । प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, दिब्यदेव, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायत कलाकार छन् ।

निर्माणपक्षले हालसम्म सार्वजनिक गरेका कन्टेनमा को मुख्य कलाकार, को हिरो, कसको भूमिका र स्थान कति भनेर सार्वजनिक गरेको छैन । टिजरले मुख्य भूमिकामा प्रदीप खड्का हुन् कि भन्ने अड्कल लगाउन सकिन्छ ।

नायक अनुमान लगाउन सकिए पनि टिजर र पोस्टर हेरेर खलनायक को हो भनेर भन्न सकिने अवस्था छैन । जुन निर्माणपक्षले हालसम्म प्रष्ट पारेको छैन ।

प्रदीप, सौगात, दयाहाङ, प्रमोद, दिव्यदेव र अनुपविक्रम सबै टिजरमा हतियारसहित देखिन्छन् । पेस्तोल र खुँडा नबोक्ने र नचलाउने कोही छैन । सबै एक्सन सिनमा रगताम्य छन् । प्रहरी उच्च अफिसरको भूमिकामा देखिएका दयाहाङ पनि हतियार चलाउँछन् । उनको अदाहले पनि उनी प्रहरी अफिसर मात्रै हुन् भन्ने अवूथा छैन ।

टिजरको इन्डक्ल्यापमा देखिने सौगात मल्लको डाइलगले पनि उनी हिरो हुन् कि भिलेन खुल्दैन । त्यसैले ‘पिताम्बर’को खलनायक को हो भन्ने अनुमान लगाउन पनि कठिन देखिएको छ ।

पोस्टर र टिजर आउँदासम्म निर्माणपक्षले खलनायक लुकाएर कौतुहलता जगाउन सक्नु पनि निर्माणपक्षको सफलता हो ।

सिनेमामा प्रदीप, दिव्या, दयाहाङ, सौगात, आर्यन सिग्देल, अनुपविक्रम, सुरक्षा, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा कृषा चौलागाईको निर्देशन छ । सिनेमामा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

विशाल चौलागाई निर्माता रहेको सिनेमामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाई सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद छ ।

पुरुषोत्तम प्रधानको डीओपी, बन्दे प्रसादको सम्पादन, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।