प्रिमियर शोमा ‘मायावी’लाई उत्कृष्ट प्रतिक्रिया, राजेश हमाल भन्छन्- चलचित्र क्षेत्र चलायमान बनाउन सक्छ

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर (भोलि) बुधबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मायावी’को सोमबार बेलुका प्रिमियर शो सम्पन्न भएको छ ।
रिलिजको पूर्व सन्ध्यामा आयोजना गरिएको प्रिमियर शोमा अभिनेता राजेश हमाल, निर्देशक ज्ञानेन्द्र देउजा, पूर्व मिस नेपाल उषा खड्गी, कलाकार सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाल लगायत पुगेका थिए । यस्तै, सिनेमाका मुख्य कलाकार दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, नव-नायक समीम खान उपस्थित थिए ।
तर, मुख्य नायक पल शाह भने अर्को फिल्मको छायांकनका कारण रोल्पामा रहेकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।
सामान्यतः चलचित्रका प्रिमियरमा कमै उपस्थित हुने अभिनेता हमालले प्रिमियर शोमा सहभागी भएर ‘मायावी’ हेरेपछि उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
चलचित्र हेर्दै गर्दा निकै उत्साहित देखिएका हमालले ‘मायावी’ हेरेपछि आफ्नो धारणा व्यक्त गर्दै भने, “यो फिल्ममा हरेक कुरा छ । कथावस्तुले मन छोएको छ, गीतसंगीत उत्कृष्ट छ, व्याकग्राउन्ड म्युजिक प्रभावशाली छ, र कलाकारको अभिनय शानदार छ । यसैले, ‘मायावी’ ले बजार तताउने कुरामा म विश्वस्त छु ।”
हमालले फिल्मको प्रेम कथालाई अन्य लभ स्टोरी फिल्मभन्दा बेग्लै रहेको बताउँदै थपे, “‘मायावी’को कथा कसरी अगाडि बढ्छ भन्ने अनुमान लगाउन सकिँदैन । मान्छेको मन जता पनि जान सक्छ भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ । यसकारण, ‘मायावी’ विशेष प्रेमकथा हो ।”
‘मायावी’को लेखन तथा निर्देशन दिवाकर भट्टराईले गरेका छन् । हमालले भट्टराईको निर्देशनको तारिफ गर्दै भने, “उहाँको मेकिङ शैली निकै राम्रो छ । फिल्म सुरुदेखि अन्त्यसम्म गतिशील रहन्छ । यसैले, दर्शकले मन पराउनेमा कुनै शंका छैन ।”
प्रिमियर शोमा ‘मायावी’ हेरेका धेरैजसो व्यक्तिले कथावस्तु र प्रस्तुतिले आँखा रसाएको बताएका छन् । लभ स्टोरी जनरामा निर्माण भएको यस सिनेमालाई मन छुने कथा भएको भन्दै फिल्मकर्मीहरूले प्रशंसा गरेका छन् ।
‘मायावी’ ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको हो । पोखराको सुन्दर परिवेशमा आधारित यस फिल्ममा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माता रहेका छन् । नेम महर्जन क्रियटिभ सिने आर्टस्का लागि लगानीकर्ता रहेका छन् ।
सिनेमामा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी समावेश छ।
यसैबीच ‘मायावी’ को अग्रिम बुकिङ देशभरका मल्टिप्लेक्सहरूमा खुलिसकेको छ । सुखद शो पाएको यो सिनेमाको सोमबार बेलुकीदेखि नै क्यूएफएक्स चेन, वान सिनेमाज्, बीग मुभिज, आई एन आई, एफक्यूब लगायतका मल्टिप्लेक्समा बुकिङ खुल्ला गरेका हुन् ।
अब, ‘मायावी’ ले नेपाली बक्स अफिसमा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ ।