‘आउट ल : दफा २१९’द्वारा ‘न्याय’ शिर्षकमा ‘र्‍याप प्रतियोगिता’ आह्वान

काठमाडौं । चलचित्र ‘आउटलः दफा २१९’ दर्शकमाझ प्रतिक्षित सिनेमामध्ये एक बनेको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो सिनेमाले न्याय र अन्यायबीचको संघर्षको कथा उठान गर्नेछ ।

केही समय अघि यस चलचित्रको टिजर सार्वजनिक भएसँगै उत्कृष्ट प्रतिक्रिया पाएको थियो भने केही दिनमै यसको ट्रेलर पनि सार्वजनिक हुँदैछ ।

यसैबीच, चलचित्रको निर्माण टिमले ‘न्याय’ शिर्षकमा ‘र्‍याप प्रतियोगिता’ आह्वान गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्म्सको संयुक्त प्रस्तुति रहेको यो चलचित्रसँग सम्बन्धित ‘र्‍याप प्रतियोगिता’मा इच्छुक प्रतिस्पर्धीहरूले ‘न्याय’ शीर्षकमा आधारित र्‍याप गीत तयार पारेर पठाउन सक्नेछन् ।

निर्माणपक्षका अनुसार प्रतिस्पर्धीहरूले र्‍याप गीत लेखेर त्यसलाई रेकर्ड गरी भिडियोसहित पठाउनु पर्नेछ ।

विजेताले उक्त गीतको म्युजिक भिडियो निर्माणका लागि १ लाख नगद प्राप्त गर्नेछन् । गीतले दर्शकको साथ पाएको खण्डमा विजेताले भिडियो पनि निर्माण गर्न सक्ने निर्माणपक्षले बताएको छ ।

पठाइएका भिडियोलाई चलचित्रको आधिकारिक सामाजिक सञ्जाल एकाउन्टमा अपलोड गरिनेछ, जहाँ सबैभन्दा बढी लाइक र भ्यूज प्राप्त गर्ने सहभागीलाई पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकारहरूले फागुन २३ गतेभित्र आफ्नो गीत र भिडियो पठाइसक्नुपर्नेछ । चलचित्र ‘न्याय’ को कथावस्तुमा केन्द्रित भएकाले नै ‘न्याय’ शीर्षकमा प्रतियोगिता आयोजना गरिएको निर्माता अमित अग्रहरिले जानकारी दिएका छन् ।

विक्की महर्जन को लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह-निर्माता का रूपमा छन् । साथै, सिनेमामा साहिल खान को सम्पादन, चुल्ठे काजी को एक्सन, नविन गुरुङ को छायांकन रहेको छ ।

‘आउटलः दफा २१९’ मा प्रमुख भूमिकामा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।