दर्शकको नजरमा परेको ‘होस्टेल-३’, युट्युबमा ट्रेलरको ट्रेन्डिङ कब्जा

काठमाडौं । चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ ठूलो हाइप सिर्जना गर्न सफल भएको छ । गत शुक्रबार सार्वजनिक भएको ट्रेलरले छोटो समयमै उल्लेखनीय सफलता प्राप्त गरेको छ ।
नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलरले सार्वजनिक भएको केही घण्टामै दर्शकहरूको उल्लेखनीय प्रतिक्रिया प्राप्त गरेको छ । गत शुक्रबार सार्वजनिक भएको ट्रेलरले युट्युबमा ठूलो हाइप सिर्जना गरेको छ । ट्रेलरको सफलता हेर्दा यो चलचित्रले बक्स अफिसमा समेत धमाका मच्चाउने अपेक्षा गरिएको छ ।
युट्युबमा रिलिज भएको ६ घण्टामै ट्रेन्डिङ सूचीमा स्थान बनाएको ‘होस्टेल ३’ को ट्रेलरले २१ घण्टाभित्र १० लाख भ्युज पार गरेको थियो । हालसम्म पनि यो ट्रेन्डिङमा कायम रहेको छ । विशेषगरी, नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक उपलब्धि मानिएको यस ट्रेलरले मुख्य ट्रेन्डिङ सूचीमा तेस्रो स्थान हासिल गरेको छ ।
चलचित्रको ट्रेलर विशेष गरी खाडी मुलुकहरू, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा दक्षिण कोरियामा समेत लोकप्रिय बन्न सफल भएको छ । भारतीय चलचित्र उद्योगको विशाल संसारमा समेत यस ट्रेलरले स्थान बनाउन सफल भएको छ । जापान, रोमानिया, माल्टा, मलेसिया, दक्षिण कोरिया तथा बेलायत लगायतका देशमा ट्रेन्डिङमा रहेको यस ट्रेलरले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गर्ने संकेत देखाएको छ ।
चलचित्रका निर्देशक सशान कँडेलले ‘होस्टेल ३’ को ट्रेलरलाई दर्शकले मन पराएकोमा खुसी व्यक्त गरेका छन् । उनले भने, “ट्रेलरले प्राप्त गरेको अपार मायाले हामीलाई हौसला प्रदान गरेको छ । चलचित्र अपेक्षा अनुरूप उत्कृष्ट बनाउने हाम्रो मुख्य लक्ष्य हो ।”
चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा देखिनेछन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रको महत्वपूर्ण भूमिकामा देखिनेछन् ।
चलचित्रको कथा माधव शर्माले लेखेका छन्, जसले एसोसियट निर्देशकको भूमिका समेत निभाएका छन् । सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता रहेको चलचित्रका सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला रहेका छन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।
छायाङ्कन निर्देशक अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । एक्सन निर्देशक हिमाल केसी हुन् भने संगीत अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलले दिएका छन् । नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका छन् ।
चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्ने भएका छन् ।