प्रिमियरमा ‘फेरि रेशम फिलिली’लाई ‘बबाल’ रहेको प्रतिक्रिया

काठमाडौं । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर सम्पन्न भएको छ । रिलिजको पूर्व सन्ध्यामा मंगलबार ललितपुरको लाबिम मलमा आयोजना गरिएको प्रिमियर समारोहमा सिनेकर्मी, कलाकार, निर्माता तथा विभिन्न क्षेत्रका व्यक्तित्वको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
निरोज महर्जनको डेब्यू निर्देशन रहेको यो चलचित्र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको हो । प्रिमियरमा ऋचा शर्मा, निश्चल बस्नेत, अशोक शर्मा, दीपक शर्मा, कृषा चौलागाईं, रविन्द्र झा, शिल्पा मास्के, सुमन कार्की, विशाल भण्डारी, भरतमणी पौड्याल, अर्जुन कुमार, सरोज न्यौपाने लगायत थुप्रै चर्चित कलाकार तथा सिनेकर्मी सहभागी थिए ।
१० वर्ष अगाडिको चलचित्र ‘रेशम फिलिली’को सिक्वेल कस्तो बनेको होला भन्ने कौतुहलता प्रिमियरअघि निकै चर्चामा रहेको थियो । तर, सिनेमा हेरेपछि सहभागीहरू खुसी देखिए । अधिकांशले सिनेमा हेपछि कमेडी शैली, कथा र प्रस्तुति तारिफयोग्य रहेको प्रतिक्रिया दिए ।
‘उनको स्वीटर’बाट निर्देशनमा डेब्यू गरेका नविन चौहानले ‘फेरि रेशम फिलिली’ उत्कृष्ट रहेको प्रतिक्रिया दिए । वरिष्ठ निर्देशक तथा निर्माता अशोक शर्माले चलचित्रलाई ‘बबाल रमाइलो’ भन्दै प्रशंसा गरे । ‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाले अपेक्षा भन्दा धेरै राम्रो बनेको बताए ।
यस्तै, निर्देशन कृषा चौलागाईंले ‘फेरि रेशम फिलिली’लाई ‘आउटस्ट्यान्डिङ’ भन्दै ‘यो चलचित्र हेरेन भने रमाइलो गर्नै बिर्सनुहुन्छ’ भन्ने प्रतिक्रिया दिइन् । अभिनेत्री ऋचा शर्माले ‘एकदमै रमाइलो’ लागेको बताइन् भने शिल्पा मास्केले ‘एकदमै मनोरञ्जक’ भन्दै प्रशंसा गरिन् । ‘कबड्डी’ सिरिजका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले ‘बबाल, बाबाल, बाबाल फिलिली’ भन्दै चलचित्रको तारिफ गरे ।
चर्चित कमेडियन सुमन कार्कीले ‘बबाल मजा आयो, मस्त’ भन्दै तारिफ गरे । स्ट्यान्डअप कमेडियन भरतमणि पौडेलले म्याकसम गौडेलको अभिनयलाई उच्च प्रशंसा गरे । कमेडियन कैलाश कार्कीले ‘फेरि रेशम फिलिली’लाई १० मध्ये ९ रेटिङ दिँदै ‘यो पैसा तिरेर हेर्न लायक छ’ भने ।
निर्माताहरू सरोज न्यौपाने र रोहित अधिकारीले ‘फेरि रेशम फिलिली’लाई ‘बबाल’ रहेको प्रतिक्रिया दिए । हाल ‘जेरी अन टप’ निर्देशन गरिरहेका सुयोग गुरुङले सिनेमा हेरेपछि ‘दामी’ लागेको बताए ।
रंग पत्रकारहरूले ‘फेरि रेशम फिलिली’ व्यवसायिक तथा मनोरञ्जक रहेको भन्दै डेब्यू निर्देशक महर्जनको कामको प्रशंसा गरे । उनीहरूले नेपाली सिनेमाले राम्रो निर्देशक पाएको प्रतिक्रिया दिए।
सामान्यतया नेपाली सिनेमाको प्रिमियरमा क्यामरा छल्ने प्रचलन भए पनि यसपटक कलाकार र सिनेकर्मी खुलेरै सिनेमा राम्रो लागेको बताइरहेका थिए ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छिन् ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन छ ।