karsang
Close Me

बलिउड र हलिउडमा जस्तै ‘एक्टर’को सेटमा प्रदीपलाई भ्यानेटी भ्यान

काठमाडौं । नायक प्रदीप खड्का र नायिकाद्वय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘एक्टर’को छायांकन भइरहेको छ । दिव्याले यही चलचित्रबाट डेब्यु गरेकी हुन् ।

पोखरामा १० दिन छायांकन गरेर काठमाडौंको सेड्युलमा केही सातादेखि सुटिङ भइरहेको छ । थमन कुमार भण्डारीको लगानीमा निर्माण भइरहेको यो चलचित्रको टिमले नायक प्रदीपलाई छायांकन सेटमा ‘भ्यानेटी भ्यान’ उपलब्ध गराएको छ ।

विशेषत भ्यानेटी भ्यान फिल्मको छायांकनका लागि महत्वपूर्ण मानिन्छ । सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालयलगायतका सुविधाका लागि यो भेन प्रयोग गरिन्छ ।

बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत भ्यानेटी भ्यान प्रयोग गर्दै आएका छन् । तर, नेपालमा भने भ्यानेटी भ्यानको प्रचलन खासै छैन ।

बालाजु ल्याबमा यस्तै भ्यानको प्रयोग दुई वर्ष गरिएको थियो । तर, यसपटक भने फिल्मका निर्माता थमन कुमार भण्डारीले नायक खड्काका लागि ‘भ्यानेटी रुम’ उपलब्ध गराएका हुन् ।

चलचित्रका लागि टेक भएको अवस्थामा बाहेक प्रदीपले यही भ्यानमा तयारी गरिरहेका छन् । ‘भ्यानेटी रुम’लाई नेपालमा नै तयार पारिएको हो ।

यो चलचित्र आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउने फिल्ममा नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका छ । गत जेठ दोस्रो साता फिल्मको छायांकनका लागि उनी अमेरिकाबाट काठमाडौं आइपुगेका थिए ।

करिब ९ वर्षपछि पर्दामा देखिन लागेको उनी फिल्मको छायांकन सकाएर केही दिन अघि अमेरिका फर्किसकेका छन् ।