‘होस्टेल–३’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल–३’ को अग्रिम टिकट बुकिङ खुला भएको छ ।

नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो पाएको छ । दोस्रो ठूलो चेन आईएनआई सिनेमाजमा १५ शो, वान सिनेमाजमा ९ शो पाएको छ । बिग मुभिजमा ५ शो, एफक्यूब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो पाएको छ ।

बुधवार साँझसम्म देशभर करिब १२० शो पाएको छ । हलहरूले उपलब्ध गराएको शो संख्या हेर्दा यो चलचित्रको ओपनिङ सुखद रहने अनुमान लगाउन सकिन्छ ।

यो चलचित्र युवा पुस्तालाई लक्षित गरेर बनाइएको छ । सशान कँडेलले निर्देशक गरेको चलचित्रको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् ।

अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

चलचित्रको कथा माधव शर्माले लेखेका हुन् । जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् ।

चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शंकर कोइराला हुन् ।

चलचित्रको छायांकन निर्देशन अर्जुन तिवारीले गरेका छन् ।