‘आउटलः दफा २१९’ : सुशील भन्छन्– मनोरञ्जनमात्रै नभएर सन्देश पनि छ

काठमाडौं । चलचित्र ‘आउटलः दफा २१९’का नायक सुशील श्रेष्ठले यो सिनेमा मनोरञ्जनमात्रै नभएर सन्देश पनि भएको बताएका छन् ।

फागुन २९ गतेबाट रिलिजमा आउने फिल्म ‘आउटलः दफा २१९’ समाजमा सकारात्मक सन्देश दिन पनि बनाइएको उनले बताए ।

“आउटल नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हो । जब देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ । त्यसपछि एक जनाको व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ,” मंगलबार आयोजित फिल्मको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “यो फिल्म हामीले मनोरञ्जनका लागि मात्र बनाएका होइनौँ । यो फिल्मबाट हामीले समाजमा सकारात्मक प्रभाव पार्न खोजेका छौं ।”

सुशीलले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर केही कुरामा राम्रो र केहीमा नराम्रो रहेको बताए । परिस्थितिले कानुनभन्दा बाहिर जाने अवस्था बनाउने उनले बताए ।

एक्सन गर्न सहज नभएको उनको भनाइ छ । “एक्सन गर्न निकै नै गाह्रो रहेछ । म छायांकनको क्रममा निकै नै थकित हुन्थेँ । कट भन्ने वित्तिकै निन्द्रा लाग्थ्यो,” उनले भने, “यो फिल्मको तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठिक भएको छैन ।”

चलचित्रमा सुशीलको हातमा आगो बालेर दृश्य खिचिएको छ । यो दृश्यको बारेमा सुशीलले भने, “मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाइहरुले हातमा आगो लगाएर स्टन्टको दृश्य दिएको हेरेको थिएँ । त्यो दृश्य हेर्दा जती सहज लाग्छ, गर्दा निकै गाह्रो हुन्छ । तर, नयाँ अनुभव थियो रमाइलो भयो ।”

चलचित्रलाई विक्की महर्जनको निर्देशन छ । अमित अग्रहरिको लगानी रहेको यो चलचित्र फागुनको २९ गतेबाट रिलिज हुँदै छ ।