‘छड्के २’का निर्माता गिरीले घोषणा गरे नयाँ चलचित्र ‘जवाफ’

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘जवाफ’ निर्माण हुने भएको छ । बुधबार निर्माण कम्पनी काभ्रे फिल्म्सले यस चलचित्रको औपचारिक घोषणा गर्दै थीम पोस्टर समेत सार्वजनिक गरेको छ ।

यो चलचित्रलाई २०७९ मा प्रदर्शनमा आएको सिनेमा ‘छड्के २’का निर्माता प्रशान्त गिरीले निर्माण गर्न लागेका हुन् ।

सिनेमाको एआई (आर्टिफिसियल इन्टेलिजेन्स)बाट तयार पारिएको सार्वजनिक थीम पोस्टरमा ‘सपना पुरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोबीचमा उभिएका एक पात्रको पृष्ठभुमिमा प्रहरी भ्यानसहित देखाइएको छ ।

साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्ने यो चलचित्र डार्क एक्सन थ्रीलर निर्माण हुने संकेत गरेको छ ।

२०८३ मा प्रदर्शन गर्ने लक्ष राखिएको चलचित्रको सम्पूर्ण छायांकन भारतमा नै हुने निर्माणपक्षले जानकारी गराएको छ । सिनेमामा अन्य ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केहि जानकारी गराएको छैन ।

चलचित्र ‘जवाफ’को कार्याकारी निर्माताको रुपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन् । दशकलामो रंग पत्रकारिताको अनुभवलाई उनले सिनेमा निर्माणमा प्रयोग गर्ने छन् ।