कलाकारको खोजी गर्दै चलचित्र ‘माया प्रीति’, प्रमुख तथा सहायकका लागि कास्टिङ कल आह्वान

काठमाडौं । चलचित्र ‘माया प्रीति’ले कलाकार छनोटका लागि अडिसन आह्वान गरेको छ ।

नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडीमा निर्माण हुनलागेको चलचित्रको प्रमुख तथा सहायक कलाकारको लागि अडिसन आह्वान गरेको हो ।

चलचित्रका निर्देशक अवि श्रेष्ठले प्रमुख भूमिकाका लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको बताए ।

चलचित्रमा प्रमुख अभिनेत्रीका रूपमा दिव्या रायमाझी अनुबन्ध भइसकेकी छन् । लिभेन्ट्स् स्टुडियोका अनुसार दिव्याको जोडीका रूपमा अभिनय गर्ने पुरुष कलाकारसहित अन्य भूमिकाका लागि अडिसन खुला गरिएको हो ।

निर्माण टिमका अनुसार इच्छुक कलाकारहरूले ९७००६१७४३४ नम्बरको ह्वाट्सएपमा सम्पर्क गरी आफ्नो बायोडाटा, फोटोहरू र १ देखि ४ मिनेटसम्मको अभिनय भिडियो क्लिप पठाउनुपर्नेछ ।

‘माया प्रीति’ प्रेमको निःशर्त यात्राको कथा हुनेछ निर्देशक श्रेष्ठले बताएका छन् । यो चलचित्रले कुनै पनि परिस्थितिमा प्रेमको अविरल अनुभूति गराउने उनको भनाइ छ ।

चलचित्र निर्माण समूहले नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी टोली समेटेको छ । वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका निर्माता सुवास चन्द्र प्रधान हुन् ।

चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको भूमिकामा रहेकी छन् भने सन्तोष कुमार कार्की पनि कार्यकारी निर्माताका रूपमा संलग्न छन् ।

यस चलचित्रका क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन्, जो सुपरहिट चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन् । साथै, उनी एआई कलाकारका रूपमा पनि परिचित छन् ।