‘बलिदान’को प्रमुख नारी पात्र ‘किरण’को एक्सन लुक्स सार्वजनिक

काठमाडौं । आगामी दसैँको फूलपातीमा रिलिज हुने चलचित्र ‘बलिदान’को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ चरित्रको लुक्स सार्वजनिक गरिएको छ । किरणको भूमिकामा नवअभिनेत्री कविता राय छिन् ।

पोस्टरमा ‘किरण’ पात्र हिंसात्मक र संघर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ ।

चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’मा राज्यको मूलधारबाट किनारीकृत एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक भए पनि यथार्थसँग मेल खाने गरी तयार पारेको बताए ।

सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको आवश्यकतालाई मध्यनजर गरी अडिसनमार्फत कविता रायलाई छनोट गरिएको थियो । प्रमुख भूमिकामा यो चलचित्र नै रायको पहिलो चलचित्र हो ।

चलचित्रमा अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । उनीसँगैसौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्र आसुसेन फिल्म्स्को प्रस्तुति हो । यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।