‘होस्टेल–३’मा दर्शकको चाप, ‘राजा रानी’ क्लब गीत

काठमाडौं । चलचित्र ‘होस्टेल–३’को विकेन्ड ओपनिङ उत्साहजनक भएको छ । शुक्रबार देशभरका हलमा करिब ५० प्रतिशत अकुपेन्सी थियो ।
शनिबार बिहानैदेखि धेरै हलहरूमा शतप्रतिशत र केहीमा ८० देखि ९० प्रतिशतसम्म अकुपेन्सी रहेको काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले बताए ।
काठमाडौं उपत्यका बाहिरका वितरक रोहित कट्टेलले अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको बताए ।
यसैबीच, यस चलचित्रका कलाकारहरू शनिबार बिहानैदेखि काठमाडौंका हलहरूमा दर्शक भेट्न पुगेका छन् । दर्शकले ‘होस्टेल–३’ अपेक्षा गरिएको भन्दा निकै राम्रो रहेको भन्दै पूर्ण मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।
हलहरूमा कलाकारहरू पारस बम ‘कूलब्वाय’, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुली, विलियम पिएनसहित निर्देशक सशान कँडेल पनि पुगेका छन् ।
निर्देशक सशान कँडेलले आफ्नो पहिलो निर्देशनमा नै दर्शकबाट अप्रत्याशित माया पाएकोमा खुसी व्यक्त गरे । उनले भने, “चलचित्रले दुई दिनमै उत्साहजनक व्यापार गरेको छ, तर मेरो लागि सबैभन्दा ठूलो उपलब्धि दर्शकहरूको माया र सकारात्मक प्रतिक्रिया हो । व्यापार त महत्वपूर्ण छ, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा दर्शकहरूले चलचित्रलाई कसरी आत्मसात् गर्छन् भन्ने हो ।”
यसैबीच, ‘होस्टेल–३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । चलचित्रको सफलतासँगै खुसीयाली साट्ने अवसरको रूपमा चलचित्रमा समावेश गरिएको यो गीत सार्वजनिक गरिएको हो ।
किरण माइकलको सङ्गीत रहेको यस गीतमा सुजाता पाण्डे, सशान कँडेल र किरण माइकलको स्वर रहेको छ । वेला बोम्जन र सुधा मरहट्ठाको शब्द रचना रहेको छ ।
गीतमा नृत्याङ्गना आश्मा विश्वकर्माको नृत्य रहेको छ भने भिडियोमा ‘होस्टेल–३’का कलाकारहरू रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ लगायत पार्टी मुडमा देखिएका छन् भने कलाकार पारस बम ’कुलब्वाय’ भने फरक मुडमा छन् । गीतका कोरियोग्राफर रोशन विश्वकर्मा हुन् ।
सशान कँडेलले निर्देशन गरेको यस चलचित्रको पटकथा तथा संवाद माधव शर्माले लेखेका हुन् ।
चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् ।
आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् ।
शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् । अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन् ।