चितवनस्थित सुटिङ सेटबाटै निर्देशक पौडेलले किन दिए यस्तो प्रष्टिकरण ?

काठमाडौं । निर्देशक सुरेन्द्र पौडेलले ‘वरिष्ठ बलराम’मा लिखित सम्झौता गरेका कोही पनि कलाकार हेरफेर नभएको बताएका छन् ।
लिखित सम्झौता गरेका कोही पनि कलाकारलाई निकालेर उनीहरूको ठाउँ अरु कलाकार नराखिएको निर्देशक पौडेलले बताएका छन् । सुरुमा दिब्या रायमाझी नायिकाका रुपमा रहेको चलचित्रमा पछि उनलाई हटाइएको भन्ने हल्लामा सत्यता नरहेको उनले प्रष्ट पारेका छन् ।
“हाम्रो चलचित्रमा कलाकारको अनुबन्धलाई लिएर केही अफवाह फैल्याएको पाइएको छ । अभिनेत्री दिव्या रायमाझीलाई सुरुमा अनुबन्ध गराए पनि उनी अभिनीत चलचित्र व्यापारिक रुपमा सफल नभएपछि उनलाई रिप्लेस गरिएको हल्ला फैल्याउने काम भइरहेको पाएको छु । यो सरासर झुट हो,” चितवनस्थित सुटिङ सेटबाटै उनले भनेका छन्, “हाम्रो व्यानरमा आउनुभन्दा अगाडि ‘वरिष्ठ बलराम’मा को–को कलाकारले काम गर्ने मौखिक समझदारी भएको थियो, पछि कलाकारहरूको समय पावन्दीले गर्दा छायांकन हुन सकेन । पछि हामीले हालै आएर निर्माण प्रक्रिया सुरू गर्ने निर्णय भएपछि हामीले कागजी रुपमा फाइनल भएका कलाकार कोही पनि परिवर्तन गरेका छैनौं ।”
अनावश्यक लाल्छना लगाउने काम नगर्न उनले आग्रह गरेका छन् । अनावश्यक टिकाटिप्पणीले व्यक्तिगत रूपमा कलाकारको करिअरमा पुग्ने नकारात्मक असरलाई पनि ध्यान दिन उनले सुझाव दिएका छन् ।
अरूको निन्दा र चियोचर्चो गर्नुभन्दा पनि हामी आआफ्नो काममा केन्द्रित हुन पनि उनले आग्रह गरेका छन् ।
चलचित्र ‘वरिष्ठ बलराम’ गएको आइतबार मुहूर्त गरेसँगै अहिले छायांकनमा छ । चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहनेछ ।
लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रमा महेश दवाडीको लेखन रहेको छ ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाँकन चितवनसँगै हेटौंडाका विभिन्न स्थानमा गरिनेछ । सिनेमाका डिओपी मानकृष्ण महर्जन रहेका छन् ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहनेछ ।
‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा हुनेछ । चलचित्र सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जन प्रदान हुने निर्माण पक्षले जनाएको छ ।
यो चलचित्रलाई काठामाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्ने भएका छन् ।