आशा मगराती स्विट्जरल्याण्डको फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको जुरीमा मनोनीत

काठमाडौं । अभिनेत्री आशा मगरातीलाई स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनीत गरेको छ ।
फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवले आफ्नो वेबसाइटमार्फत अभिनेत्री मगरातीलाई जुरी सदस्यमा मनोनीत गरेको जानकारी दिएको छ ।
यो महोत्सवको ३९ औं संस्करणको कथानक प्रतिस्पर्धातर्फ नेपालबाट अभिनेत्री मगरातीसहित बेलायती छायांकार डेरेक हडसन र स्वीस अभिनेत्री तथा पियानोवादक अन्ना पिएरी जुरचर पनि जुरी सदस्यमा मनोनीत भएका छन् ।
यसवर्षको फ्रिबर्ग महोत्सवमा अभिनेत्री आशा मगरातीको शीर्ष भूमिका रहेको ‘राजागंज’ पनि प्रिमियर हुँदैछ ।
‘राजागंज’ प्रदर्शन अगावै अभिनेत्री मगरातीलाई यो उपलब्धि प्राप्त भएको हो । ‘राजागंज’ आगामी चैत १ गतेबाट प्रदर्शनको तयारीमा छ । यो सिनेमाको मुख्य भूमिकामा आशा छिन् ।
त्यो त्यही महोत्सव हो, जसमा सन् २०१७ मा उनको अभिनय रहेको चलचित्र ‘सेतो सूर्य’ले चारवटा अवार्ड जितेको थियो ।
यसवर्षको फिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव मार्चको २१ देखि ३० सम्म स्विटजरल्याण्डमा आयोजना हुँदैछ ।
आशा अहिले ‘राजागंज’को प्रचारमा व्यस्त छिन् । यो चलचित्रमा आशासँगै दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
‘राजागंज’लाई दीपक रौनियारले निर्देशन गरेका छन् ।