बालेनले ‘लाज शरणम्’ हेरेपछि गरे धुर्मुसको अभिनय र मेहनतको प्रशंसा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हाल प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका छन् ।

सोमबार साँझ दरबारमार्गस्थित क्युएफएक्स हलमा साँझ ६ बजेको शोमा मेयर बालेनले यो सिनेमा हेरेकाका हुन् । उनी मिडियालाई खबर नगरी चलचित्र हेर्न पुगेका थिए ।

चलचित्रमा समावेश ‘नेपाल हाँसेको’ गीतमा बालेनकै स्वर रहेको छ, जसले दर्शकमाझ निकै चर्चा पाएको छ ।

चलचित्र हेरेपछि बालेनले यसप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । विशेष गरी, अभिनेता सीताराम कट्टेल (धुर्मुस) को अभिनय र मेहनतको खुलेरै प्रशंसा गरे ।

“यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो,” सिनेमा हेरेपछि बालेनले धुर्मुसको तारिफ गरे ।

बालेनले धुर्मुसलाई आत्मीय रूपमा अँगाल्दै भने, “एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।”

कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ अहिले देशभरका हलमा प्रदर्शनरत छ र दोस्रो सातामा प्रवेश गरिसकेको छ । दर्शकहरूबाट पनि यो सिनेमाले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।