‘पूर्णबहादुरको सारंगी’का निर्माता पौडेलसँग चन्दा माग्नेविरुद्ध मुद्दा दायर

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्माता विनोद पौडेललाई धम्क्याउँदै जबर्जस्ती चन्दा माग्ने दुई व्यक्तिविरुद्ध मुद्दा दायर भएको छ ।

पौडेलको कार्यालयमा गएर चन्दा माग्ने भरतकुमार राई र लेखबहादुर तामाङविरुद्ध प्रहरीले मुद्दा दायर गरेको हो । उनीहरूले नेपाल कम्युनिस्ट पार्टी (विद्रोही)को पत्र दिँदै धम्क्याउँदै जवरजस्ती चन्दा मागेका थिए ।

प्रहरीले भरतकुमार राईलाई पक्राउ गरेको छ । तामाङ भने फरार छन् ।

पौडेलले प्रहरीमा आफूलाई धम्की दिएको भन्दै जाहेरी दिएका थिए । बुधबार दायर अभियोग पत्रमा पौडेले उनीहरूले चलचित्रको आम्दानीको एक हिस्सा पार्टीलाई चन्दा दिन भनेका थिए । नदिए ‘जन अदालत’मा कारबाही गर्ने चेतावनी दिएका थिए ।

राईको साथबाट पार्टीका दस्ताबेज, पार्टीको पत्र, पर्चा–पम्प्लेटलगायत कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।

आर्टखबरसँग कुराकानी गर्दै निर्माता पौडेलले भने, ‘हाम्रो चलचित्र हलमै प्रदर्शन भइरहेको थियो, त्यही समयमा नेकपा (विद्रोही) उल्लेख गरिएको पत्र पठाएर हामीलाई धम्की दिइयो । पत्रमा पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले आन्दोलनमा धोका दिए, त्यसैले पार्टीलाई आर्थिक सहयोग गर्नुपर्ने माग गरिएको थियो ।’

उनका अनुसार कार्यालयमा नभएको बेलामा एक जना आएर स्टाफलाई धम्क्याउने र कुटपिट गर्न खोजेको थाहा पाएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो ।

चलचित्र व्यवसायिक रूपमा सफल भएसँगै विभिन्न पक्षको ध्यानाकर्षण भएको देखिन्छ । तर, निर्माताले भने आफ्नो व्यवसायमा जबरजस्ती चन्दा माग्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रहरीले पक्राउ परेका भरतकुमार राईलाई कानुनी प्रक्रियाअन्तर्गत अनुसन्धान गरिरहेको बताएको छ भने फरार रहेका लेखबहादुर तामाङको खोजी कार्य जारी राखिएको जनाएको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ले करिब ७० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।