दर्शकले रुचाए ‘आउट लः दफा २१९’को एक्सन

काठमाडौं । फागु पूर्णिमा अर्थात् होलीको अवसर पारेर विहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘आउट लः दफा २१९’ले दर्शकको सुखद प्रतिक्रिया पाएको छ ।
यो एक्सनप्रधान चलचित्र हेर्न युवापुस्ताका दर्शकहरुको चाप हलमा बढी देखिएको निर्माणपक्षको दाबी छ । प्रदर्शनकै दिन विहीबार दिनभर काठमाडौंका विभिन्न हलमापुगेर सिनेमाका कलाकारहरुले दर्शकसँग साक्षात्कार समेत गरेका थिए ।
चलचित्रका मुख्य नायक सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान दिनभर हल–हलमा पुगेका थिए ।
देशभरका हलमा पहिलो दिन ४० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको ‘आउट लः दफा २१९’ काठमाडौंमा केही शो हाउसफुल समेत भएको थियो ।
‘आउट लः दफा २१९’ हेर्नका लागि युवापुस्ताका दर्शकहरुको चाप हलमा बढी देखिएको थियो । सिनेमा हेरेपछि अधिकांश दर्शकले यसको एक्सनको खुलेरै तारिफ गरेका थिए । काठमाडौं बाहिरका दर्शकले पनि चलचित्र हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
निर्माण टिमले आगामी दिनमा ‘वर्ड अफ माउथ’ बलियो भएकाले सिनेमाले अकुपेन्सी दर बढ्दै जाने विश्वास लिएको छ । चलचित्रको कथावस्तुले महिलाको कथा उठाएको र सस्पेन्स पाटो गज्जब रहेको दर्शकहरुबाट प्रतिक्रिया पाएको निर्माणपक्षको भनाइ छ ।
दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएपछि नायक सुशील उत्साहित देखिए । ‘मैले ४ वर्ष एउटा उत्कृष्ट फिल्ममा काम गर्छु भनेर नै अफर आएका थुप्रै फिल्म छाडेको हुँ । आज दर्शकहरुले दिनुभएको मायाले उत्साहित छु,’ उनले भने ।
चलचित्रका निर्देशक विक्की महर्जनले पनि २ वर्ष लगाएर आफूहरुले गरेको मिहिनेतमा दर्शकहरुले साथ दिएको भन्दै खुशी व्यक्त गरे ।
निर्देशक महर्जनकै लेखन रहेको चलचित्रमा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, विशाल पहारी, महेश त्रिपाठी, सुमन भण्डारी, हेम महर्जन लगायतको अभिनय छ ।
अमित अग्रहरि र निशा गुइडेको संयुक्त निर्माण रहेको ‘आउट ल’मा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन तथा चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।