चौतर्फी प्रशंसा पाउँदै ‘अञ्जिला’, भाइरल भए दर्शक रोइरहेका भिडियो क्लिप्स

काठमाडौं । फागु पूर्णिमा अर्थात् होलीको अवसर पारेर विहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’लाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।
नेपाली राष्ट्रिय महिला टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षमा आधारित यो सिनेमाको अहिले सामाजिक सञ्जालमा प्रशंसासँगै दर्शक रोइरहेका भिडियो क्लिप्सहरू भाइरल भएका छन् ।
प्रदर्शनको पहिलो शो देखि नै दर्शकहरूको उत्साहजनक उपस्थितिसहित प्रदर्शन भएको यो चलचित्र हेरेर दर्शकहरू भाव विह्वल भएको क्लिप्सहरू अहिले सोसल मिडियामा देखिन्छन् । गत सोमबार काठमाडौंमा आयोजित प्रिमियरमा पनि भावविह्वल माहोल बनेको थियो ।
चर्चा र प्रशंसा पाइरहेको ‘अञ्जिला’ हेर्न नेपाली महिला फुटबल टिमकी चर्चित खेलाडी प्रीति राई पनि बिहीबार बिग मुभिज पुगेकी थिइन् ।
सशस्त्र प्रहरी बलको सुरक्षासहित पुगेकी उनले चलचित्रमा देखाइएको भन्दा पनि एञ्जिलाले धेरै संघर्ष गरेको बताइन् । सिनेमा हेरेपछि मिडियासँग प्रतिक्रिया दिँदै उनले भनिन्, ‘फिल्म हेर्दा म भावुक भएँ । यसमा देखाइए भन्दा पनि एञ्जिला दिदीले धेरै संघर्ष गर्नुभएको छ । उहाँलाई यो ठाउँमा देख्दा खुसी महसुस भइरहेको छ ।’
यसैबीच, चलचित्रको निर्माणपक्षले शुक्रबार ‘रात किन हुन्छ हजुर’ बोलको गीत युट्युबमा सार्वजनिक गरेको छ ।
सार्वजनिक उक्त गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ भने थानेश्वरको सङ्गीत र प्रभा बर्तौलाको शब्द रचना रहेको छ ।
पीडायुक्त शब्दहरू रहेको यस गीतले सिनेमाकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू बयान गरेको छ । यस गीतको संक्षिप्त अंश चलचित्रमा समेत सुन्न सकिन्छ ।
चलचित्रका निर्देशक मिलन चाम्सले यस गीतलाई पूर्ण रूपमा सुन्नको लागि दर्शकबाट व्यापक माग आएपछि सार्वजनिक गरिएको बताए ।
‘अञ्जिला’ मा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।
एन्जिलाको साथमा चलचित्रमा दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, सुनिल थापा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।