‘आउट ल’का लागि वास्तविक कुटाइ खाएका सुशील

काठमाडौँ । अभिनेता सुशील श्रेष्ठ अभिनीत चलचित्र ‘आउट लः दफा २१९’ होलीको दिन सार्वजनिक प्रदर्शनमा आएको छ ।
चलचित्र प्रदर्शनमा आएदेखि नै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । धेरैले सिनेमाको एक्सन, कथावस्तु र मेकिङको प्रशंसा गरिरहेका छन् । विशेषगरी, अभिनेता सुशीलको एक्सनमा गरेको मिहिनेतको निकै वाहवाही भइरहेको छ । शनिबार सिनेमाले देशभर राम्रो व्यापार गरेको छ भने ‘वर्ड अफ माउथ’को कारण आगामी दिनहरूमा अझ राम्रो व्यापार गर्ने विश्वास निर्माण टिमको छ ।
यस सिनेमामा सुशीलले ‘डू अर डाइ’को शैलीमा अभिनय गरेका छन्, जसमा उनले शरीरलाई नै पीडा हुनेगरी विभिन्न दृश्य दिएका छन् ।
यो चलचित्रमा देखाइएका एक्सन दृश्यहरू कुनै पनि ‘चिटिङ’ नभई वास्तविक छन् । विशेषगरी, उनले जेलभित्र खाएको कुटाइको दृश्य निकै दर्दनाक रहेको छ । सिनेमाको एक दृश्यमा प्रहरीद्वारा पक्राउ परेपछि उनलाई जेलभित्र लौरोले कुट्ने दृश्य समावेश गरिएको छ । सामान्य लाग्ने यो दृश्य वास्तवमै सुशीलले सहनुपरेको थियो । आइतबार, उनले उक्त दृश्यको भिडियो र तस्वीर फेसबुकमा सेयर गर्दै दर्शकहरूलाई यसबारे जानकारी गराएका छन् । भिडियोमा उनलाई दुखाइले चिच्याएको देख्न सकिन्छ भने तस्वीरमा निलडाम स्पष्ट देखिन्छ।
सुशीलले सो पोस्टमा लेखेका छन्, ‘जसले फिल्म हेर्नुभएको छ, उहाँहरूलाई यो दृश्यको गहिरो महत्त्व थाहा छ । म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौँ, निर्देशकले बारम्बार भनेका थिए, ‘रियल नगरौं’, तर मैले भनेको थिएँ, ‘यदि यो दृश्यलाई सकेसम्म वास्तविक बनाउन सकें भने दर्शकहरूले यसलाई अझ बढी महसुस गर्नेछन् ।’
नेपाली एक्सन सिनेमालाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले ‘आउट ल’ निर्माण गरिएको उनले बताएका छन् । ‘हाम्रो टिमले रातदिन मेहनत गरेर ‘आउट ल’लाई जीवनमा ल्याएको हो। यो दृश्य त केवल हाम्रो प्रयासको एउटा झलक मात्र हो । हाम्रो सपना थियो, संवेदनशील विषय उठाएर नेपाली एक्सन सिनेमालाई नयाँ उचाइँमा पुर्याउने,’ उनले उल्लेख गरेका छन् ।
चलचित्र प्रदर्शनमा आएदेखि नै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । धेरैले सिनेमाको एक्सन, कथावस्तु र मेकिङको प्रशंसा गरिरहेका छन् । विशेषगरी, सुशीलको एक्सनमा गरेको मिहिनेतको निकै वाहवाही भइरहेको छ । शनिबार सिनेमाले देशभर राम्रो व्यापार गरेको छ भने ‘वर्ड अफ माउथ’को कारण आगामी दिनहरूमा अझ राम्रो व्यापार गर्ने विश्वास निर्माण टिमको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको सिनेमामा सुशीलसँगै शिक्षा संग्रौला, नरेश पौडेल लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । विकास चौधरी सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको सिनेमामा चुल्ठे काजीको एक्सन निर्देशन छ ।
सिनेमामा विक्की महर्जन र दिर्घ धामीको पटकथा, नवीन गुरुङको डीओपी छ ।
सिनेमामा सुशील श्रेष्ठसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की, अयान परियारलगायतको अभिनय छ ।