प्रिमियरमा ‘११:५५’ले कस्तो पायो प्रतिक्रिया ?

काठमाडौं । चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को रेड कार्पेट प्रिमियर शो भव्य रूपमा सम्पन्न भएको छ । चलचित्र भोली अर्थात् चैत्र ८ गतेबाट औपचारिक रूपमा प्रदर्शनमा आउँदैछ । बुधबार कमलपोखरीस्थित बिग मुभिज सिटीसेन्टरमा आयोजित प्रिमियर शोमा चलचित्रकर्मी, पत्रकार तथा चर्चित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यस विशेष शोमा पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्देशक तथा हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे) तथा ‘होस्टेल ३’ निर्माण टिमको उपस्थिति रहेको थियो । चलचित्र हेरेपछि दर्शक तथा चलचित्रकर्मीहरूले क्राइम थ्रिलर जनरामा बनेको उत्कृष्ट नेपाली फिल्म भएको प्रतिक्रिया दिए।
अभिनेत्री मलिना जोशीले नेपालमा क्राइम थ्रिलर जनरामा बनेका सीमित फिल्महरूमध्ये ‘११:५५’ उत्कृष्ट रहेको बताइन्। उनले विशेष रूपमा अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय र उनको पात्रले दर्शकको मन जित्ने उल्लेख गरिन्। डेब्यु निर्देशक केशव केशव पाण्डेले सस्पेन्स क्राइम थ्रिलर मन पराउने दर्शकका लागि विशेष सिनेमेटिक अनुभव प्रस्तुत गरेको बताइयो।
निर्देशक सुवर्ण थापाले चलचित्रको कथा एउटै घरभित्र गजबले समेटिएको भन्दै निर्देशक पाण्डेको प्रशंसा गरे। नेपालमा सस्पेन्स क्राइम थ्रिलर फिल्महरू कम निर्माण हुने भएकाले यस्ता प्रयोगात्मक फिल्महरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । निर्देशक तथा कलाकार दीपक आचार्य (काकु) ले प्रमुख अभिनेता महेश त्रिपाठीको अभिनय दर्शनीय रहेको बताए। साथै, अन्य कलाकार तथा निर्देशकको कामको पनि तारिफ गरे।
चलचित्रका प्रमुख कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र नवअभिनेता सागर खनालले प्रिमियर शोमा पाएको सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए। उपस्थित दर्शकहरूको मन जिते जस्तै हलमा पनि चलचित्रले उत्तिकै राम्रो प्रतिक्रिया पाउनेमा उनीहरू आशावादी देखिए।
डेब्यु निर्देशक केशव केशव पाण्डेले आफ्नो लामो समयदेखिको मेहनत र सपना पूरा भएको बताए। उनले कलाकारहरूको उत्कृष्ट अभिनयले कथालाई न्याय गरेकोमा खुशी व्यक्त गरे।
चलचित्र ‘११:५५’ को लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् भने, एमएस अग्रज र शेखर ज्ञवाली सहलेखकको रूपमा रहेका छन् ।
चलचित्रमा अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको छायांकन, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन तथा सुवास राज काफ्ले प्रोडक्सन डिजाइनरको रूपमा छन् ।
बिचित्र फिल्म्स र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माले लगानी गरेका छन् । कार्यकारी निर्माता एमएस अग्रज रहेका छन् भने चलचित्रको वितरण कुवेर सिने डिस्ट्रीब्युसन प्रा.लिले गर्नेछ ।
