देश दौडाहामा रहेको ‘आउट ल’ टिम भन्छ – दर्शकको अपार माया पाइयो

काठमाडौं । गत बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘आउट ल : दफा २१९’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ । आठौं दिनमा देशभर प्रदर्शन भइरहेको यो चलचित्रको टिम हाल पश्चिमबाट पूर्वसम्मको यात्रा गर्दै प्रचारप्रसारमा जुटिरहेको छ ।

चलचित्र युनिटले हालै बुटवलमा दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरेको छ । प्रदर्शनको पहिलो चार दिनमै राम्रो ग्रस कलेक्सन गरेको यस सिनेमाले आठौं दिनसम्म पनि उत्साहजनक व्यापार गरिरहेको निर्माता अमित अग्रहरीले बताए । उनका अनुसार दर्शकको राम्रो प्रतिक्रिया र समर्थनले ‘आउट ल : दफा २१९’ को दोस्रो भाग निर्माण गर्ने बाटोसमेत खुलेको छ ।

चलचित्रका मुख्य अभिनेता सुशिल श्रेष्ठले सामाजिक सञ्जालमार्फत चलचित्रले राम्रो माउथ पब्लिसिटी पाएको र दर्शकबाट माया तथा साथ पाएको अनुभूति गरेको बताए ।

बुटवलबाटै फिल्म करिअर सुरू गरेका उनले आफ्नै सहरमा दर्शकको विशेष साथ पाएकोमा खुशी व्यक्त गरे । उनी भन्छन्, “दर्शकहरूको अपार माया र समर्थनले ‘आउट ल : दफा २१९’ नेपाली बक्स अफिसमा नयाँ इतिहास बनाउँदैछ !”

चलचित्रका निर्देशक बिक्की महर्जनका अनुसार कथावस्तु बलियो भएकाले दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले केही दिनसम्म फिल्मले हलमा आफ्नो स्थान मजबुत बनाउने विश्वास व्यक्त गरे ।

सामाजिक विषयवस्तुमा एक्सनको मिश्रण गरिएको यो चलचित्रले न्यायको मुद्दा उठाएको छ । फिल्ममा सुशिल श्रेष्ठसँगै नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकार प्रमुख भूमिकामा छन् ।