‘पिताम्बर’बारे कृषा भन्छिन्– कल्पनाबाहिरको सिनेमा, प्रदीपका लागि नयाँ

काठमाडौं । निर्देशक कृषा चौलागाईंले चलचित्र ‘पिताम्बर’ नेपाली चलचित्र उद्योगका लागि कल्पनाभन्दा बाहिरको सिनेमा भएको बताएकी छन् ।

एक्सन, बजेट, कलाकारको लाइनअप, मेहनत र स्टोरीका हिसाबले ‘पिताम्बर’ कल्पना गरेभन्दा बाहिर गएर बनेको चलचित्र भएको उनको दाबी छ ।

लामो समयदेखि एउटै कुरामा मात्र चलचित्र केन्द्रित भइरहेको भन्दै त्यसलाई ‘पिताम्बर’ले ब्रेक गर्ने उनको भनाइ छ ।

“एउटा यस्तो फिल्म बनाउनुपर्छ, जुन वियोण्ड द इमाजिन होस् । जसमा मेकर स्वतन्त्र होस् । म यस्तै फिल्म बनाउँन चाहन्थेँ,” उनी भन्छिन्, “त्यस्तो फिल्म नआएको पनि धेरै समय भइसकेको थियो । त्यस्तो फिल्मले मासलाई हलसम्म तान्नसक्छ । मासलाई हलमा तान्न सक्नु नै फिल्मकर्मीको जित हो । त्यसकारण मासलाई हलमा ल्याउन पिताम्बर बनाएको छु ।”
‘पिताम्बर’ आफ्ना लाग तपस्या भएको उनले बताएकी छन् । यसको आइडिया ‘एैचो पैचो’भन्दा पहिला नै आए पनि पहिलो निर्देशकीय चलचित्रमा धेरै जोखिम पनि नउठाउँ र एउटा अनुभव संगालेर मात्र मनलागेको ड्रिम प्रोजेक्ट गरौँ भनेर समय लिएर काम गरेको उनले बताइन् ।

‘पिताम्बर’ लार्ज स्केलको चलचित्र भएको उनको भनाइ छ । कृषा ‘पिताम्बर’लाई भरपुर एक्सन फिल्म भन्न रुचाउँछिन् । बीचको समयमा एक्सन फिल्म कम आइरहँदा आफ्नो चलचित्रमा दर्शकले केही फरकपन पाउनेमा उनी ढुक्क छिन् ।

‘पिताम्बर’ प्रदीप खड्काका लागि पनि नयाँ भएको उनले बताइन् । “प्रदीपलाई फरक अवतारमा हेर्न चाहने दर्शकको चाहनालाई पिताम्बरले पूरा गरिदिनेछ । किनकी प्रदीपलाई पूरै एक्सनमा हेर्ने दर्शकको रहरलाई पिताम्बरले पूरा गर्नेछ,” उनी भन्छिन् ।

कृषाले स्क्रिप्टका लागि मात्रै डेढ वर्ष समय दिएको बताइन् । ा ‘पिताम्बर’ पूरै फरक कथाको फिल्म नभए पनि हेरेर फर्किँदा दर्शकले भरपुर मजा लिने उनको भनाइ छ ।

मास इंगेजिङ चलचित्र बन्न छोडेको भन्दै उनी त्यो अभावलाई यो चलचित्रले पूर्ती गर्ने उनको भनाइ छ ।

“अहिले सिठी बज्ने, ताली बज्ने, हुटिङ आउने फिल्म छैन । पिताम्बर हेरेपछि दर्शकले पीडा भुलेर मजा बोकेर घर आउँछन्,” उनले भनिन् ।

दर्शकले एउटा टिकटमा तीन÷चारजना हिरोले अभिनय गरेको चलचित्र हेर्न पाउने उनको भनाइ छ ।

उनले ‘पिताम्बर’ नेपालमै पहिलोपटक तीनवटा क्यामराले खिचेको बताइन् । बाहिरबाट धेरै प्राविधिक सामान ल्याएका छौँ । मेकिङका हिसाबले पनि यो फिल्म कस्तो बनेको रहेछ भन्ने दर्शकमा चासो भइरहेको छ । तर चलचित्रले दर्शकलाई कनेक्ट गर्ने उनको दाबी छ ।

कृषाले ‘पिताम्बर’को अवधारणा दिमागमा खेलाइरहँदा उनले अभिनेता प्रदीप खड्कालाई नै सम्झिएको बताइन् । उनलाई अलिकति आर्यन लुक्स, हल्का दाह्रीजुँगा भएको र राम्रो काम गर्न सक्ने कलाकार चाहिएको र त्यो सम्भावना प्रदीपमा देखेको उनले बताइन् । ‘पिताम्बर’का कथा नै स्टारबाट सुरु हुने उनले बताइन् ।

“हाम्रो कथा नै स्टारबाट सुरु हुन्छ । त्यसकारण दर्शकको मन मुटुमा बसेको र राम्रो अभिनयका कारण चर्चामा आएका कलाकारलाई नै प्राथमिकता दियौँ,” उनले भनिन्, “कलाकारको परफर्मेन्सभन्दा पनि कोही भन्दा कोही कम नदेखिऊन् भनेर मल्टिस्टार लियौँ । तीन प्रमुख कलाकार निश्चित थिए । फिल्म बन्दै गएपछि अन्य कलाकारहरु पनि जोडिनुभयो ।”

चैत २९ गते रिलिज हुने चलचित्र ‘पिताम्बर’ केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको सिनेमा हो ।

यो चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल र बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकीले अभिनय गरेका छन् ।

कृषा चौलागाईंको निर्देशन रहेको सिनेमामा विशाल चौलागाई निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाई सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् ।

चलचित्रमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन छ । सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।