निश्चलले गाए ‘महाभोज’का लागि गीत

काठमाडौं । चलचित्र ‘महाभोज’का लागि निर्देशक, अभिनेता तथा गायक निश्चल बस्नेतले नयाँ गीत रेकर्ड गरेका छन् ।

दिनेश राउतको निर्देशनमा निर्माण भएको यो सिनेमाका लागि उनले हालै ‘लालुमै’ शीर्षकको गीत रेकर्ड गरेका हुन्, जसमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ ।

निश्चल बस्नेतलाई ‘काले दाइ’ को उपनाम दिलाउने अवसर पनि निर्देशक राउतकै २०७४ सालमा रिलिज भएको चलचित्र ‘पर्व’को लोकप्रिय गीत काले दाइबाट प्राप्त भएको थियो । उक्त गीतमा बस्नेतले स्वर दिएका थिए भने नृत्याङ्गना माला लिम्बुसँग नृत्य गरेका थिए । हालसम्म ‘काले’ दाइ गीत युट्युबमा ६ करोड ३० लाख पटक हेरिएको छ।

‘लालुमै’ गीतका लागि निश्चल बस्नेत नै उपयुक्त आवाज भएका कारण रोजिएको निर्देशक राउतले बताए ।

“८ वर्षअघि पर्व को गीतका लागि निश्चललाई गाउन लगाउँदा एक अलग अनुभूति आएको थियो । अहिले ‘लालुमै’मा पनि फरक भोकल टोन आवश्यक परेकोले निश्चललाई नै लिएको हुँ,” राउतले बताए । पहिले ‘काले दाइ’को रूपमा परिचित निश्चल अब ‘लालुमै’को नयाँ परिचयका साथ दर्शकमाझ आउने निर्देशक राउतको विश्वास छ ।

यसअघि निश्चलले ‘लुट’, ‘लप्पन छप्पन’, र ‘बुलबुल’को गीत पनि गाएका थिए ।

चलचित्र ‘महाभोज’मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यो फिल्मका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायांकन राजेश श्रेष्ठले गरेका छन् । सम्पादन निमेष श्रेष्ठको रहेको छ भने ध्वनि डिजाइन उत्तम न्यौपानेले सम्हालेका छन् ।

नेपालमा यस चलचित्रको वितरण काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछन् । चलचित्र ‘महाभोज’ जेठ १५ गते प्रदर्शनमा आउनेछ ।