दर्शक भन्छन्- ‘वसन्त’ले मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सहयोग गर्नेछ

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूतको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ यस वर्षको सबैभन्दा प्रतिक्षित सिनेमामध्ये एक बन्न सफल भएको छ ।
यो चलचित्रको केही दिनअघि एक विशेष कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर सार्वजनिक भएसँगै यो सिनेमाको हाइप समेत बढ्दै गएको छ ।
ट्रेलर सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेका छन् । दर्शकको उत्साहजनक प्रतिक्रियाले सिनेमाले समाजमा सकारात्मक प्रभाव पार्ने धेरैले विश्वास व्यक्त गरेका छन् ।
सिनेमाको ट्रेलरप्रति दर्शकको चासो बढ्दै जाँदा यसले ट्रेन्डिङको शीर्ष स्थान तर्फ पाइला बढाइरहेको छ । युट्युबको कमेन्ट बक्समा अधिकांशले नेपाली समाजको यथार्थ चित्रण गरेको उल्लेख गरेका छन् ।
‘वसन्त’को ट्रेलर युट्युबको ट्रेन्डिङ सूचीमा प्रवेश गरिसकेको छ । यो समाचार तयार पार्दासम्म युट्युब मुभिज सेक्सनको चौथो स्थानमा छ । हालसम्म ट्रेलरले ४ लाख १८ हजार भ्युज, २३ हजार लाइक र ३ हजार ४ सय भन्दा बढी प्रतिक्रिया प्राप्त गरिसकेको छ ।
कमेन्टबक्समा अमृत परियारले लेखेका छन्, “मलाई लाग्छ, यो सिनेमाले मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सहयोग गर्नेछ। शुभकामना सम्पूर्ण टिमलाई!” सन्देश विकले लेखेका छन्, “एउटा सिनेमामा यति धेरै कथा समावेश गरिएको रहेछ, ट्रेलर हेर्दा नै गजबको अनुभूति भयो। धेरै शुभकामना प्रकाश दाजु!”
राम प्रसादले प्रतिक्रिया दिँदै लेखेका छन्, “एक-एक संवादमा गहिरो सन्देश लुकेको छ। हलसम्म तान्ने पक्का छ!” मदन बराइलीले लेखेका छन्, “सत्यिकै समाज सुधारको सोच राख्ने जो-कोहीले यो सिनेमा हेर्नेछ। म पनि परिवारसहित हेर्न जानेछु । सम्पूर्ण टिमलाई अग्रिम शुभकामना!”
‘वसन्त’ किन विशेष?सिनेमामा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सामाजिक कथानक यो सिनेमाको कथा, पटकथा, तथा संगीत पनि निर्देशक सपूत स्वयंले तयार पारेका हुन् ।
सिनेमाले विपन्न विश्वकर्मा समुदायका एक युवकको लेखक बन्ने सपना र त्यसलाई पूरा गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ । सिनेमाका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली, र विरेन्द्र नारायण श्रेष्ठ रहेका छन् ।
सुसन प्रजापतिले छायांकन गरेको यो चलचित्र सपूतको जन्मथलो बागलुङ, साथै काठमाडौं र तराईका विभिन्न स्थानमा खिचिएको हो ।
काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमाको वितरण गर्नेछ।