रेखा र पूजा फेरि एउटै चलचित्रमा

काठमाडौं । अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्मा नयाँ प्रोजेक्टमा सहकार्य गर्ने भएका छन् । चलचित्र ‘उपहार’मा एकसाथ काम गरेका यी दुवै अभिनेत्रीले नयाँ सिनेमामा दोस्रो पटक सहकार्य गर्ने भएका हुन् ।
केही महिनाअघि नै यी दुईले ‘काली २’मा सहकार्य गर्ने खबर बाहिरिएको थियो । तर, यतिबेला रेखा र पूजाले ‘काली २’ नभएर निर्देशक सविर श्रेष्ठको निर्देशनमा बन्ने नयाँ चलचित्रमा सहकार्य गर्न लागेका छन् ।
यद्यपि, नयाँ चलचित्रको नामबारे निर्माण पक्षले अहिलेसम्म कुनै औपचारिक रूपमा धारणा सार्वजनिक नगरेपनि ‘३६ को आँकडा’ नामक सिनेमा बनाउन लागेको चर्चा छ ।
पारिवारिक तथा एक्सन जनरामा निर्माण हुन लागेको चलचित्रलाई विशेष बनाउनकालागि अभिनेत्रीद्वय सक्रिय रूपमा संलग्न रहेका छन् । हाल सिनेमाको स्क्रिप्ट र संगीतको काम धमाधम चलिरहेको बुझिएको छ ।
चलचित्र ‘कसले चोर्यो मेरो मन’ बाट निर्देशन यात्रा थालेका निर्देशक श्रेष्ठले आफ्नो करिअरमा सबैभन्दा बढी सिनेमा नै रेखासँग बनाएका छन् ।
रेखा र श्रेष्ठले यसअघि ‘काली’, ‘कसले चोर्यो मेरो मन’, ‘तथास्तु’, ‘हमेशा’, ‘राम प्यारी’मा सहकार्य गरेका थिए ।
काइट्स इन्टरटेन्मेन्टबाट निर्माण गर्न लागिएको यो चलचित्रको छायांकन आगामी वर्षको वैशाख अन्तिमबाट सुरु गर्ने योजनामा निर्माणपक्षको रहेको बुझिएको छ ।