‘जन्ते बाख्रो’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्र ‘जन्ते बाख्रो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको प्रमुख भूमिकामा रहेको यस सिनेमाको सोही पोस्टरमार्फत् प्रदर्शन मिति पनि घोषणा गरिएको छ, जसअनुसार ‘जन्ते बाख्रो’ आगामी जेठ २३ गतेबाट प्रदर्शन हुनेछ ।

कमेडी कथावस्तुमा निर्माण भएको चलचित्रको सार्वजनिक फर्स्टलुक पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा देखाइएको छ, भने सौगात उनीहरूलाई निराश मुद्रामा हेरिरहेका छन् ।

सिनेमाका प्रमुख पात्रकाबीचमा चस्मा लगाएको एउटा खशी (बाख्रो)लाई समेत देखिन्छ । निर्माण टिमका अनुसार ‘जन्ते बाख्रो’ शीर्षक विवाहका अवसरमा जन्तीलाई खुवाइने विशेष भोजलाई संकेत गर्छ र सिनेमाको कथा यसैको वरिपरि घुमेको छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस चलचित्रमा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सन्तोष गौतमले निर्माण गरेको ‘जन्ते बाख्रो’मा प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद रहेको छ ।

सिनेमाका डीओपी हरि हुँमागाई, सिनेमाटोग्राफर उत्तम हुँमागाई, सम्पादक सुनिल शिवभक्ति तथा पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले गरेका छन् ।

यो चलचित्रको वितरण टिफल्क फिल्मस्ले गर्नेछ भने डिजिटल अधिकार मुईन इन्टरटेनमेन्टकै स्वामित्वमा रहेको छ ।