चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको नयाँ सदस्यका रूपमा सन्तोष बाबु लोहनी नियुक्त भएका छन् । निर्माता, निर्देशक तथा कलाकार समेत रहेका लोहनीलाई बोर्डमा बिहीबार दुई वर्षका लागि नियुक्त गरिएको हो ।

रिक्त रहेको दुई सदस्यमध्ये एक पदमा उनलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यमा नियुक्ति दिएका हुन् । अब बोर्ड सदस्यमा एकजना नियुक्त हुन बाँकी रहेका छन् ।

लामो समयदेखि नेपाली चलचित्र, टेलिभिजन तथा समाजसेवामा संलग्न संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार उनी सदस्यमा नियुक्त भएका हुन् ।

लोहनीले ‘अपमान’ र ‘जय विजय’जस्ता चलचित्रहरूमा मुख्य भूमिका निभाएका थिए भने ‘नारी, द वुमन’, ‘हलो नेपाल’, र ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रमहरूमा पनि काम गरेका छन् ।

उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘शुभ लभ’ हो ।

नवनियुक्त सदस्य लोहनीले चलचित्र विकास बोर्डमा रहेर नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत चलचित्रको विश्वव्यापी प्रचार-प्रसारका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लोहनी हाल चलचित्र विकास बोर्ड अन्तर्राष्ट्रिय चलचित्र प्रवर्द्धन समितीको सदस्यसमेत रहेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले लोहनीलाई शुभकामना दिँदै बोर्डको कार्यक्षेत्रमा उनको अनुभव र योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

चलचित्र विकास बोर्ड र चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा राजनीतिक नियुक्ति हुने गरेको छ । जुन पार्टी सरकारमा हुन्छ, त्यही निकट फिल्मकर्मीलाई दुवै संस्थाको रिक्त पदमा नियुक्त गरिन्छ । बोर्ड अध्यक्ष डिसी एमाले कोटाका हुन् ।