एकले अर्काको परिवारलाई स्वीकार्न नसक्दाको द्वन्द्व देखाइएको चलचित्र ‘घरज्वाइँ’को ट्रेलर

अनिल बुढा मगरद्वारा निर्देशित चलचित्र ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार सार्वजनिक गरिएको ४ मिनेट २ सेकेण्ड लामो ट्रेलरले युवायुवतीबीचको आकर्षण, प्रेम, सर्त, बाध्यता र अर्काको परिवार रिझाउन नसक्दाको कथावस्तुबारे प्रकाश पारेको छ ।
मगर समुदायको संस्कार तथा संस्कृतीमा आधारीत कथासार बुझाउने ट्रेलरले एउटा गाउँमा शिक्षण पेशा गरिरहेको युवा र त्यहीँकी मगर युवतीसँग प्रेम बसेपछि आउने आरोह-अवरोहलाई देखाएको छ ।
एकले अर्काको परिवारलाई सहजै स्वीकार्न नसक्दाको द्वन्द्व देखाएको चलचित्रको ट्रेलरले विवाह गर्नेले घरज्वाइँ बस्नुपर्ने सर्त राखेपछि चलचित्रका मुख्य पात्र दयाहाङ राईले जबरजस्ती समातेर मिरुना मागरलाई आफ्नो घर भित्राउँछन्, जसलाई मगर समुदायमा ‘केटी छोप्ने’ चलन भनिन्छ । तर, युवतिका पिता शिशिर बाङ्देलले छोरीलाई जबरजस्ती घर फिर्ता लिएर आउँछन् । त्यसपछि के युवतीलाई पाउनका लागि युवा घरज्वाइँ बस्न राजी हुन्छन् भन्ने मुख्य कथा ट्रेलरमा देखाइएको छ।
चलचित्रमा दयाहाङ, मिरुना, शिशिरसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । कृष्ण भन्डारीले सम्पादन रहेको चलचित्रका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ ।
यो चलचित्र असारको २८ गतेबाट रिलिजमा आउँदैछ ।