नोरा फतेही पहिलोपटक नेपाल आउँदै, काठमाडौंमा दिनेछिन् धमाकेदार प्रस्तुति

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आउने भएकी छन् । उनी वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रा.लि.को आयोजनामा हुन लागेको विशेष सांगीतिक कार्यक्रम ‘नोरा फतेही लाइभ इन नेपाल’ मा सहभागी हुन काठमाडौं आउने भएकी हुन् ।
यो कार्यक्रम आगामी वर्ष २०८२ जेठ ३ गते बौद्धस्थित हायात होटलको चौरमा आयोजना हुनेछ । नोराले मुम्बईबाट आएका २० बढी कोरस डान्सरसहित नेपाली दर्शकमाझ लाइभ प्रस्तुति दिनेछिन् ।
नोराले पहिलोपटक नेपालमा प्रस्तुति दिन लागेकी हुन् ।
अभिनेत्री फतेहीले एक श्रव्य दृश्य सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउने र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने बताएका छन् ।
“म काठमाडौँ आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु”, अभिनेत्री फतेहीले भनेकी छन् ।
शिक्षाबाट बञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘हुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ च्यारिटी कार्यक्रम गर्न लागिएको आयोजक संस्थाले बताएको छ । यस कार्यक्रममार्फत संकलित रकम सामाजिक संस्था ह्युमन रेस्पेक्ट नेपाललाई सहयोग गरिनेछ ।
आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार कार्यक्रममा चर्चित नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन् । टिकटको मूल्य दुई हजार, चार हजार, सात हजार र १६ हजार तय गरिएको छ । दर्शकले आइतबारदेखि खल्ती एपबाट टिकट किन्न सक्नेछन् ।
इभेन्ट म्यानेजमेन्टको जिम्मा मनु मिडिया प्रा.लि.ले लिएको छ । पूर्ण मनोरञ्जनसहितको यो कार्यक्रममा नोरालाई हेर्न नेपालका साथै भारतको सीमावर्ती क्षेत्रका दर्शकहरू समेत कार्यक्रममा सहभागी हुने आयोजकको विश्वास छ ।
नोरा अभिनेत्री मात्र होइनन, चर्चित नृत्यांगना समेत हुन् । दिलबर दिलबर, कुसु कुसु, ओ साकी साकी, नाच मेरी रानी नाचलगायतका गीतमा नोराले नाचेकी छन् । ‘स्नेक’ उनको पछिल्लो विश्वब्यापी चर्चित गीत हो, जुन ग्लोबल ट्रेन्डिङमा समेत छ ।