karsang
Close Me

सरोज भन्छन्– समयमा फोटो सुटमा आउनु पर्दैन ? आनाकाे प्रश्न– हटाउँदा मलाई सोध्नु पर्दैन ?

काठमाडौं । चलचित्र ‘जेरी अन टप’को नायिकाको विषयलाई लिएर विवाद पुनः सुरु भएको छ । आना शर्मालाई सिनेमाबाट निकालेर जसिता गुरुङलाई भित्र्याइएको विषयलाई लिएर विवाद सुरु भएको हो ।

आना शर्माले आफूलाई खबर नै नगरी सिनेमाबाट हटाइएको भन्दै सामाजिक सञ्जालबाट बताएपछि निर्माता सरोज न्यौपानेले त्यसको कारण खुलाएका छन् ।

आनाले आफू फोटोसुटमा उपस्थित हुन नसक्नुको कारण र निर्माताले लगाएको आरोपको खण्डन गरेपछि त्यसको जवाफ सरोजले फर्काएका छन् । उनले विसन्चो भएकाले दोस्रो चरणको फोटोसुटमा उपस्थित हुन नसकेको बताएकी छन् । यसबारेमा पहिले नै टिमलाई जानकारी गराएको उनले दाबी गरेकी छन् ।

निर्माण टिमले आफ्नो ठाउँमा अरुलाई अनुबन्ध गरेकोबारे आफूलाई कुनै जानकारी नगराएको उनको गुनासो छ । “फिल्म टोलीले म लुकटेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्व निभाउन नसकेको भन्दै मिडियाहरूमा कोट दिएको देखेँ । उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ । यसले मलाई ठूलो चोट दियो,” उनी लेख्छिन् ।

सम्झौतामा हस्ताक्षर गरौँभन्दा पटक–पटक आलटाप गरिएको समेत उनको आरोप छ । आफ्नो ठाउँमा अरु कलाकारलाई लिएपछि निर्माण टिमले आफूलाई माथि देखाउन विभिन्न आरोप लगाइरहेको उनको भनाइ छ ।

‘लुकटेस्ट’ र फोटोसुट हुँदैमा फिल्ममा आफू नै हुनुपर्छ भन्ने नभए पनि आफ्नो मान मर्दन र प्रतिष्ठामा हिलो छ्याप्ने काम भएको उनको आरोप छ ।

चलचित्रको टोलीले महिनौंसम्म आफ्नो नाम लिएर फिल्मबारे प्रचार गरेको तर आफ्रलाई हटाइँदा एक शब्द जानकारी नगराएको भन्दै उले आपत्ति जनाएकी छन् ।

“मेरो मन चिरिएको छ । बिरामी भएको जानकारी दिएर दोस्रो पटकको लुकटेस्टमा उपस्थित हुन नसकेको त्यति सानो कारणमा टेकेर पूर्वसूचना बिनै हटाइँदा मन दुख्नु स्वभाविक हो,” उनी लेख्छिन्, “यदि, उनीहरुको चरित्र नै यस्तै हो भने यस्तो टिमसँग काम गर्न नपाउनुमा म आफूलाई भाग्यमानी ठान्छु ।’

यताm निर्माता सरोजले आफूले पटकपटक फोन गर्दा सम्पर्कमा नआएको भन्दै फोन गरेको स्क्रिनसट नै फेसबुकमा राखेका छन् ।

“नायिकाको सवालमा उहाँलाई चलचित्र क्षेत्र भनेको रमाइलो गर्ने, पार्टी गर्ने, मन लाग्यो भने खोजेको ठाउँमा आउने मन र मुड नहुँदा बिरामी छु भनेर टार्दा पुग्ने, बिना सम्पर्क हराउने सोच्नु भएछ । एकपटक होइन पटक–पटक यस्तो व्यवहार सहँदै हिजोको दिनसम्म धेरै नै कम्प्रमाइज गर्दै आएको हो,” उनी लेख्छन्, “पटकपटक फोन म्यासेज गर्दा जवाफ नै पाउन नसकेको तितो अनुभव मसँग छ । एकहफ्ता अगाडिदेखिको तयारीका साथ पूर्वनिर्धारित मितिमा फिल्म युनिट फर्ष्ट लुक पोस्टरको छायांकनको लागि बिहान ७ बजे स्टुडियोमा उत्साहका साथ पुगिराख्दा प्रमुख कलाकार नै उपस्थित हुनुभएन । पटकपटक फोन सम्पर्क गर्दा कुनै प्रकारको जवाफ आएन ।”

आफूले आनाको आमासँग कुरा गर्दा रेडिमेड जवाफ आएको उनले बताएका छन् । “अन्ततः स्वघोषित बिरामी उहाँको सोसियल मिडिया स्टोरीमा हाम्रो टिमलाई हाइड गरिएको थाहा भयो । भोलि काम छ भनेपछी रातभर पार्टी गर्दै बस्न मिल्ने काममा आउन नमिल्ने ?,” उनी लेख्छन्, “सबै कुराहरू बाहिर आउँछ, त्यो उहाँको प्राइभेट लाइफ हो । धेरै हाम्रो भन्नु नि केही छैन । तर उहाँको प्राइभेट लाइफले करोडौं लगानी गर्ने निर्माता र हाम्रो प्रोजेक्ट ‘जेरी अन टप’मा काम गर्ने ७० जनाले दुःख पाउनु कति सम्मको जायज हो ?”

आनाको आमालाई दिउँसो १ बजेसम्मको समयसीमा दिँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफ्नो एकल निर्णयले नायिका परिवर्तन गरेको सरोजले बताएका छन् ।

अनमोल केसी, आँचल शर्मालगायत कलाकारको अभिनय रहने सिनेमालाई सुयोग गुरुङले निर्देशन गर्दैछन् ।