गुपचुप रूपमा नेपालमा चलचित्र खिचिरहेका छन् ‘डाकिनी’ निर्देशक खिन्से

काठमाडौं । गत वर्ष रिलिज भएको चलचित्र ‘डाकिनी’का निर्देशक पुनः अर्को चलचित्र निर्माणमा जुटेका छन् । खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) अहिले नेपालमा छन् ।

खिन्से नेपाली चलचित्र ‘प्रिटेन्डिङ गड’ निर्देशन गरिरहेका छन् । गुपचुप रूपमा यतिबेला यो चलचित्रको छायांकन भइरहेको छ । १८ दिनदेखि यो चलचित्र पनौती र काठमाडौंमा छायांकन भइरहेको छ ।

चलचित्रको मुख्य भूमिकामा कमलमणि नेपाल छन् । विनिता थापा मगर, रवीन्द्र सिंह बानियालगायत कलाकारको अभिनय छ । आउँदो वर्ष यो चलचित्र रिलिज हुनेछ ।

नेपाली भाषामा चलचित्र निर्माण भइरहेको छ । नेपाली प्राविधिक र कलाकार प्रयोग गरेर ‘डाकिनी’ निर्देशक खिन्सेले सिनेमा बनाइरहेका हुन् । चिन्तनराज भण्डारीले सिनेमा खिचिरहेका छन् ।

‘डाकिनी’मा भने केही प्राविधिक र कलाकार विदेशी थिए ।

‘डाकिनी’ ११ करोडमा बनेको चलचित्र थियो । तर, यो चलचित्र भने बिग बजेटको नभएको बताइएको छ ।