‘अभिमन्यु’को मुख्य कलाकार नै लुकाएर छायांकन, किन ?

काठमाडौं । चलचित्र ‘अभिमन्यु’ले मुख्य कलाकार लुकाएर छायांकन सुरु गरेको छ । कलाकारको लाइनअप भन्दै सार्वजनिक गरेको भिडियोमा पनि मुख्य कलाकार लुकाएको पाइएको छ ।

हालसम्म यो चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार भनेर गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायतको नाम मात्रै बाहिर ल्याइएको थियो ।

तर, सिनेमाको मुख्य लिडमा भने कामेश्वर चौरिसिया रहेको पाइएको छ । कामेश्वर यो चलचित्रको मुख्य भूमिकामा देखिने पक्का भएको छ । पब्लिसिटी स्टन्टस्वरुप निर्माणपक्षले हालसम्म उनलाई लुकाएको छ ।

चैत १९ गते कीर्तिपुरमा चलचित्रको पूजा गर्दै शुभमुहूर्त गरेसँगै ‘अभिमन्यु’को छायांकन सुरु भएको थियो ।

‘अभिमन्यु’को निर्माता विनोद पौडेल हुन् । सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुने बताएका छन् ।

चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो ः रोड टु डेथ’ निर्देशन गरेका थिए ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहनेछ ।

यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।