विदेशीभन्दा स्वदेशी चलचित्रमा आकर्षण, पौने तीन अर्बको कारोबार, टप–१० मा कुन–कुन ?

काठमाडौं । नेपालमा विसं. २०८१ मा ५९ वटा नेपाली र ८३ वटा विदेशी भाषाका चलचित्र रिलिज भएका छन् । नेपाली र विदेशी गरी १४२ वटा चलचित्र रिलिज हुँदा दुई अर्ब ५२ करोडभन्दा धेरै ग्रसकलेक्सन भएको छ । चैतको अन्तिममा रिलिज भएका ‘वसन्त’, ‘कर्मा’ र ‘पिताम्बर’को बक्सअफिस तथ्यांक भने आउन बाँकी छ ।

चलचित्र विकास बोर्डको तथ्यांक अनुसार नेपालीभन्दा २४ वटा बढी विदेशी भाषाका चलचित्र रिलिज भए । तर बक्सअफिस कलेक्सनमा भने नेपाली चलचित्र हिन्दीभन्दा बलियो देखिए ।

५९ वटा नेपाली चलचित्रले एक अर्ब ६२ करोड ६३ लाख ९३ हजार ६०२ रुपैयाँ ग्रसकलेक्सन गरेका छन् । ८३ विदेशी भाषाका चलचित्र रिलिज हुँदा ८९ करोड ५८ लाख ७१ हजार ७१४ रुपैयाँ ग्रसकलेक्सन भएको छ ।

दशवटा नेपाली चलचित्रले एक अर्ब २५ करोड, ९२ लाख २५ हजार ४५८ कलेक्सन गरेका छन् । नेपालमा सबैभन्दा धेरै कमाउने दश चलचित्रमा ‘पूर्ण बहादुरको सारङ्गी’, ‘१२ गाउँ’, ‘छक्का पञ्जा–५’, ‘बोक्सीको घर’, ‘अञ्जिला’, ‘पुजार सार्की’, ‘घर ज्वाइँ’, ‘फर्की फर्की’, ‘मनसरा’ र ‘लाज शरणम्’ छन् ।

हाइप बनाएका, राम्रा र फेस्टिभलमा गएरका भनिएका आर्ट मुुभीले भने कमाइको आंकडामा आफूलाई अब्बल सावित गर्न सकेनन् । ‘साम्बाला’, ‘राजागंज’, ‘गाउँ आएको बाटो’ जस्ता चलचित्र बक्सअफिसमा निकै पछाडि नै छोडिए । टप टेनको सूचीमा पनि अटाउन सकेनन् । समीक्षा पनि मिश्रित मात्रै पाउन सके । यसले यो खालका चलचित्रलाई प्रोत्साहन गर्छ वा दुरुत्साहन त्यो भने हेर्न आउँदो वर्षले देखाउनेछ ।

विदेशी भाषाका सिनेमालेभन्दा नेपाली चलचित्रले ७३ करोड पाँच लाख २१ हजार ८८७ रुपैयाँ बढी कलेक्सन गरेका छन् ।

सबैभन्दा धेरै कलेक्सन गर्ने विदेशी चलचित्रमा ‘पुस्पा : द रुल’, ‘कल्की २८९८ एडी’, ‘स्त्री–२’, ‘सिंघम अगेन’, ‘भुल भुलैया–३’, ‘सिकन्दर’, ‘डेडपुल’, ‘छाभा’, ‘द ग्रेटेस्ट अफ अल टाइम (जी.ओ.ए.टी), ‘देभरा पार्ट वान’ रहेका छन् । यी चलचित्रले ९८ करोड ६५ लाख १७ हजार ८८७ रुपैयाँ कलेक्सन गरेका छन् ।

२०८१ मा ५९ वटा चलचित्र रिलिज हुँदा (पिताम्बर र कर्मा)बाहेक ५७ लाख ३७ हजार ७३४ जनाले नेपाली चलचित्र हेरेका छन् । यो वर्ष नेपाली सिनेमा हेर्ने दर्शकको संख्या बढेको छ ।

सबैभन्दा धेरै ‘पूर्ण बहादुरको सारङ्गी’ १७ लाख दुई हजार ३० जनाले हेरेको तथ्यांक छ । सबैभन्दा कम ८९ जनाले ‘शिरफूल’ हेरेका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ले ४६ करोड ८० लाख २६ हजार ६७४ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘शिरफूल’ले १८ हजार ५०० रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ वर्षकै सबैभन्दा धेरै कमाउने चलचित्र हो । ‘शिरफूल’ वर्षकै सबैभन्दा थोरै कलेक्सन गर्ने चलचित्र हो ।

५७ लाख ३७ हजार ७३४ टिकट बिक्री हुँदा नेपाली चलचित्रले एक अर्ब ६२ करोड ६३ लाख ९३ हजार ६०२ रुपैयाँ ग्रसकलेक्सन गरेका छन् ।

विसं. ०८१ मा निर्माणका लागि १९४ वटा चलचित्रले इजाजत लिएका छन् । यो गत वर्षको भन्दा धेरै हो । गत वर्ष १५० वटा चलचित्रले मात्रै निर्माणको इजाजत लिएका थिए । यो १० वर्षयता कै सबैभन्दा धेरै निर्माणका लागि इजाजत लिएको वर्ष हो ।

यो ०८१ मा सबैभन्दा राम्रो पक्ष दर्शक स्टारको पछि कुदेनन् । कथामा विश्वास गरे । कन्टेनलाई विश्वास गरे । तर, यसो भन्दै गर्दा कन्टेनप्रधान सबै चलचित्र पनि चलेका छैनन् ।

०८१ मा दुई दर्जन नयाँ निर्देशक आए । नयाँ निर्देशकका चलचित्र पनि मजाले चले । ‘बोक्सीको घर’, ‘घर ज्वाईं’, ‘खुस्मा’ नयाँ निर्देशकका चलचित्र थिए । नयाँलाई प्रोत्साहन गर्दै अग्रजलाई सम्मान गरेको वर्षका रूपमा पनि ०८१ लाई लिन सकिन्छ । किन भने दीपकराज गिरी, विराज भट्टका सिनेमा पनि चले । नयाँ निर्देशकका चलचित्र पनि चले ।