वर्ष २०८१ः दुई दर्जन कलाकारको डेब्यु, तर स्टारकिड्स कै दबदबा
काठमाडौं । नेपाली सिनेमा क्षेत्रका लागि वर्ष २०८१ नयाँ अनुहारहरुको आगमनका हिसाबले उत्साहजनक रह्यो । वर्षको अन्त्यसम्म झण्डै दुई दर्जनभन्दा बढी नयाँ कलाकारहरूले नेपाली रजतपटमा डेब्यु गरे । तर, यस वर्ष पनि ‘स्टारकिड्स’ अर्थात् फिल्म पृष्ठभूमिका परिवारबाट आएका कलाकारको नै वर्चस्व कायम रह्यो ।
वर्षको सुरुवात वैशाख २८ मा ‘खजुरे ब्रो’ बाट पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहले डेब्यु गरिन् । चलचित्रले बक्स अफिसमा खासै सफलता नपाए पनि नीतिका लागि यो सुरुवाती ढोका बन्यो ।
त्यसपछि जेठ ११ मा रिलिज भएको चलचित्र ‘फर्की फर्की’बाट समृद्धि अर्याल र रवि काफ्लेले रजतपट डेब्यु गरे । अनमोल केसीजस्तो सुपरस्टारसँग अभिनय गर्ने अवसर पाएका उनीहरूले सहयोगी भूमिकाबाट आफुलाई चिनाउने प्रयास गरे ।
नयाँ हिरोको रुपमा निश्चल खड्काले ‘लण्डन टु पेरिस’ मार्फत डेब्यु गरे । यो चलचित्र बक्स अफिसमा असफल भए पनि निश्चलको अभिनयले दर्शक र समीक्षकबाट प्रशंसा बटुल्यो ।
असार ७ गते ‘दानवी’ मार्फत मोडल कुन्साङ बोमजमले फिल्मी यात्रा थाले तर, चलचित्रको कमजोर प्रदर्शनले उनको डेब्यु खासै प्रभावशाली बन्न सकेन ।
श्रावण १८ मा ‘मोदीबेनी’ मार्फत अमर प्रताप श्रेष्ठले डेब्यु गरे । तर, उनको प्रयास पनि बक्स अफिसमा सफल हुन सकेन ।
यस्तै, भदौ १४ मा रिलिज भएसँगै विवेक कर्माचार्यले डेब्यु गरे, जसको प्रभाव न्यून रह्यो ।
असोजमा रिलिज भएको चलचित्र ‘सानो संसार’ बाट अन्जसा रिजालको अभिनयलाई निकै सम्भावनायुक्त भन्दै तारिफ गरियो । यद्यपि चलचित्र बक्स अफिसमा असफल रह्यो ।
वर्षको दोस्रो सुपरहिट चलचित्र ‘१२ गाउँ’ ले तीन नयाँ अनुहारलाई चिनायो । जसमा समीर भट्ट, न्यान्सी खड्का र सनिशा भट्टराई छन् । यसमध्ये समीरले सर्वाधिक चर्चा बटुले, जुन उनको स्टारकिड पृष्ठभूमिसँग पनि जोडिएको छ । उनी अभिनेता विराज भट्टका छोरा हुन् ।
पुस २६ मा रिलिज भएको ‘कार्साङ’ मार्फत सिर्जना निङले डेब्यु गरिन् । चलचित्र औसत चले पनि सिर्जनाको अभिनयको तारिफ भयो ।
त्यसैगरी, चलचित्र ‘एक्टरः टेक वान’ बाट दिव्या रायमाझीले ‘नयाँ हिरोइन’को रुपमा डेब्यु गरिन् । यो सिनेमा बक्स अफिसमा फ्लप सावित भएपनि स्टारकिड्स समेत रहेकी दिव्यालाई केही हदसम्म चर्चामा ल्यायो ।
फागुन २ मा ‘रंगी’ मार्फत पूर्व मिस नेपाल समेत रहेकी नम्रता श्रेष्ठले रजतपट यात्रा सुरु गरिन् । यद्यपि, उनको डेब्यु चलचित्रले अपेक्षित सफलता प्राप्त गर्न सकेन ।
‘होस्टेल ३’ मार्फत आशिष घिमिरे, पारस बम, रिहान गिरी, सिम्रन पन्त र पदम तामाङले डेब्यु गरे । यिनीहरू मध्ये आशिष स्टारकिड्स हुन् । यी अधिकांश कलाकारहरूको अभिनयमा सम्भावना देखिएको समीक्षकको भनाइ छ ।
महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले ‘अञ्जिला’ चलचित्रमार्फत डेब्यु गर्दै आफ्नै जीवनकथा पर्दामा प्रस्तुत गरिन् । उनको अभिनयको तारिफ भए तापनि उनले फिल्म क्षेत्रमा निरन्तरता नदिने बताएकी छन् ।
चैत ८ गते प्रदर्शन भएको चलचित्र ‘११:५५ : डु नट ट्रस्ट एनिवन’बाट सागर खनालले डेब्यु गरे । यो सिनेमा बक्स अफिसमा फ्लप सावित भएपनि उनको अभिनयको तारिफ भयो ।
यो वर्षका डेब्यु कलाकारहरू मध्ये केहीले अभिनयबाट सम्भावना देखाए पनि स्टारकिड्सले नै बढी चर्चा र स्थान ओगट्न सफल भए । यस हिसाबले नेपाली चलचित्र क्षेत्रमा पारिवारिक पृष्ठभूमिको पहुँचबाट आउनेहरु अझै बलियो रहेको संकेत गर्छ ।



