१८ नयाँ निर्देशकको उदयले चम्किएको वर्ष- २०८१

काठमाडौं । वि.सं २०८१ मा डेढ दर्जन नयाँ निर्देशक आएका छन् । यो वर्ष नयाँ निर्देशकका चलचित्र पनि मजाले चले । ‘बोक्सीको घर’ देखि ‘वसन्त’ सम्म आइपुग्दा नयाँ निर्देशकका चलचित्र थिए ।

वि.सं. २०८१ लाई नेपाली सिने क्षेत्रका लागि डेब्यु निर्देशकहरूको साहसी र दर्शकको सकारात्मक प्रतिक्रियाले नेपाली चलचित्रको भविष्य उज्ज्वल बनाउने संकेत दिएको छ । नयाँलाई प्रोत्साहन गर्दै अग्रजलाई सम्मान गरेको वर्षका रूपमा पनि ०८१ लाई लिन सकिन्छ ।

अभिनेत्री केकी अधिकारीको निर्माण एवं शीर्ष अभिनय रहेको चलचित्र ‘बोक्सीको घर’ गत वैशाख १४ गते प्रदर्शनमा आएको थियो । बोक्सी कुप्रथाका नाममा महिलामाथि हुने हिंसाको कथामा बनेको सिनेमालाई सुलक्षण भारतीले लेखन एवं निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन चलचित्र हो ।

जेठ ३२ गते प्रदर्शन भएको चलचित्र ‘बाटो: रोड टु डेथ’ मदन थापाको डेब्यु निर्देशकीय चलचित्र हो । सिनेमामा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, अशान्त शर्मा लगायत कलाकारको अभिनय छ ।

यस्तै, असार २८ गते प्रदर्शन भएको चलचित्र ‘घर ज्वाईं’ अनिल बुढामगरको डेब्यु निर्देशकीय सिनेमा हो । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाईं संस्कृतिमा आधारित भएर बनेको सिनेमामा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् ।

साउन १८ गते रिलिज भएको ‘मोदीबेनी’ शंकर कोइरालाको डेब्यु निर्देशकीय चलचित्र हो । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो सिनेमामा अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता अमरप्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडा, रेजिना उप्रेती, सरोज खनाल, कमलमणी नेपाल, जीवन भट्टराई लगायतको अभिनय रहेको छ ।

असोज ३ गते रिलिज भएको चलचित्र ‘खुस्मा’ अशोक थापा मगरको डेब्यु निर्देशकीय सिनेमा हो । यो चलचित्रको मुख्य भूमिकामा धिरज मगर र उपसना सिंह ठकुरी छन् ।

असोज ११ गते प्रदर्शन भएर रि-रिलिज समेत भए ‘सानो संसार’ सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशकीय चलचित्र हो । राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्माण भएको यो सिनेमामा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । यी सबै कलाकारले यही चलचित्रमार्फत रजतपटमा डेव्यु गरेका हुन् ।

दशैंको घटस्थापना अर्थात् असोज १७ देखि रिलिज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन् । यो उनीहरुको डेब्यु निर्देशकीय चलचित्र हो । स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको सिनेमामा विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, बसुन्धरा भुसाल, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको अभिनय छ । 

शेर्पा परम्परा र कथावस्तुमा आधारित ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशकीय सिनेमा हो । गत पुस २६ गतेबाट प्रदर्शन भएको यो चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल र दीया मास्केको प्रमुख भूमिका छ ।

हरर् कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरीरी’लाई नवीन भट्टको निर्देशन गरेका हुन् । माघ ४ गते प्रदर्शन भएको यो चलचित्र उनको डेब्यु निर्देशकीय सिनेमा हो ।

नामको विषयलाई लिएर भएको विवादसँगै माघ १६ गते प्रदर्शनमा आउन नसकेर १८ गतेबाट रिलिजमा आएको चलचित्र ‘एक्टरः टेक वान’ राजन भुसालको डेब्यु निर्देशकीय चलचित्र हो । यो सिनेमामा प्रदीप खड्का, राजवल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ । 

फागुन २ गते प्रदर्शन भएको चलचित्र ‘रंगी’ सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशकीय सिनेमा हो । यो चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।

यस्तै, फागुन ९ गते प्रदर्शनमा आएको ‘ताण्डवम्’ जुनिम गहतराजको डेब्यु निर्देशकीय चलचित्र हो ।

फागुन १४ गते रिलिज भएको ‘फेरि रेशम फिलिली’ निरोज महर्जनको डेब्यु निर्देशकीय चलचित्र हो । सिनेमा आर्टको प्रस्तुति र भी मोसन पिक्चर्सको सहकार्यमा बनेको सिनेमामा विनय श्रे, सुपुष्पा भट्ट, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी लगायतको अभिनय छ ।

यसैगरी १४ गते नै रिलिजमा आएको चलचित्र ‘लाज शरणम्’ कुमार कट्टेल (जिग्री)को डेब्यु निर्देशकीय सिनेमा हो । जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतको अभिनय छ ।

फागुन २३ गते रिलिज भएको सफल चलचित्र ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को सशान कँडेलको डेब्यु निर्देशकीय चलचित्र हो । क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा समेटेको सिनेमामा आशिष घिमिरे, पारस बम, रिहान गिरी, सिम्रन पन्त, पदम तामाङ लगायतको अभिनय छ ।

यस्तै, फागुन २९ गते प्रदर्शनमा आएको ‘आउट ल : दफा २१९’ विक्की महर्जनको डेब्यु निर्देशकीय सिनेमा हो । चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, हेम गुरुङ, सोनी लागुन लगायतको अभिनय छ ।

चैत ८ गते प्रदर्शन भएको क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘११:५५ : डु नट ट्रस्ट एनिवन’ केशव पाण्डेको डेब्यु निर्देशकीय सिनेमा हो । चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यु अभिनेता सागर खनाल प्रमुख भूमिकामा छन् । 

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘वसन्त’ प्रकाश सपूतको डेब्यु निर्देशकीय पहिलो सिनेमा हो । चैत २२ गते प्रदर्शनमा आएको सोसल ड्रामा ‘वसन्त’ मा प्रकाशसँगै नायिका स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ ।