अभिनेत्री अरुणिमाको वैवाहिक सम्बन्ध अन्त्यको संकेत, डिभोर्सको प्रक्रियामा रहेको खुलासा

काठमाडौ । अभिनेत्री अरुणिमा लम्सालले आफ्नो वैवाहिक सम्बन्धमा आएको उतारचढावबारे पहिलोपटक सार्वजनिकरूपमा मुख खोलेकी छन् ।
अमेरिका बस्दै आएकी अभिनेत्री अरुणिमा हालै नेपाल आएकी छिन् । करिब दुई सातादेखि नेपाल बसाइमा रहेकी उनले आफूले अभिनय गरेको वेव सिरिज ‘घर बट इन अमेरिका’ को प्रमोसनमा क्रममा आफू श्रीमानसँग डिभोर्स गर्न लागेको खुलासा गरिन् ।
हालै एक टेलिभिजन कार्यक्रममा दिइएको अन्तर्वार्तामा अरुणिमाले आफू डिभोर्सको प्रक्रियामा रहेको खुलासा गरेकी हुन् ।
अरुणिमाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेपछि गत भदौ ३ गते जनै पूर्णिमाका दिन काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा हिन्दू परम्पराअनुसार सुनसरी निवासी युवराज श्रेष्ठसँग लगनगाँठो कस्दै दोस्रो विवाह गरेकी थिइन् ।
अरुणिमाले यसअघि सामाजिक सञ्जालबाट श्रीमान् युवराजसँगको सबै तस्वीर हटाएकी थिइन् । अहिले ती कुनै पनि तस्वीर सामाजिक सञ्जालमा छैनन् । जसलाई धेरैले सम्बन्ध विच्छेदको संकेतको रूपमा लिएका थिए । यस विषयमा औपचारिक रूपमा कुनै प्रतिक्रिया नदिएकी उनले अमेरिकाबाट नेपाल आएसँगै डिभोर्सका लागि फाइल गर्न लागेको उल्लेख गरेकी छन् ।
उक्त कार्यक्रममा डिभोर्सको औपचारिक प्रक्रिया अघि बढाइसकेकी अरुणिमाले भनेकी छन्, “डिभोर्स भइसकेको छैन, प्रक्रियामा भने छ ।”
विवाहपछिको समयमा श्रीमान्को बारेमा विभिन्न आलोचनात्मक टिप्पणी आउन थालेपछि आफूहरूले ती विषयमा छानबिन थालेकी थिए । उनले भनिन्, “विवाहपछि धेरै कुरा थाहा भयो, जुन कुरा पहिले थाहा थिएन । धेरै टिकाटिप्पणीहरू भएपछि हामी छानबिनमा लाग्यौं । अन्ततः सुनिएको कुरा साँचो रहेछ भन्ने थाहा भयो । त्यसैले अब निर्णयमा पुगेकी हुँ।”
विवाहपछि युवराजले आफूलाई धोका दिएको गुनासो अरुणिमाले गरेकी छन् । “विवाह अगाडि उहाँको राम्रो मात्रै सुनिएको थियो । विवाहपछाडि नराम्रो मात्रै सुनियो । उहाँले सबै कुराहरू ढाँट्नुभएको रहेछ । तर, कहिल्यै पनि आफूले ढाँटेको स्वीकार्नुभएन । यस्तो झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिंगल नै बस्छु भनेर यो निर्णय लिएँ । उहाँले म डिभोर्स दिन्न, सर्वोच्चमा जान्छु भन्दै हुनुहुन्थ्यो,” उनले भनिन्, “तर म भने मेरो तर्फबाट डिभोर्स फाइल गर्न लागेकी हुँ ।”