‘सिटामोल’ साउन २३ मा आउने

काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सिनेमाको पोस्टर सार्वजनिक गर्दै आगामी साउन २३ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।

सिनेमाको सोमबार सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरमा सौगात वैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन् । उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन् । सिनेमामा उनीहरु श्रीमान्–श्रीमतीको भूमिकामा छन् ।

माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको छ । सौगातले सिनेमामा जनयुद्धको घाइतेको भूमिका निवार्ह गरेका छन् ।

सिनेमामा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।

सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् ।

सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।