२०८१ मा ब्लकबस्टर सिनेमा दिने विजय र केकीको सिनेमा ‘जनै हराएको बाहुन’ कस्तो होला ?

काठमाडौं । विसं. २०८१ मा ब्लकबस्टर सिनेमा दिने कलाकार हुन्, विजय बराल र केकी अधिकारी । विय बरालको ‘पूर्ण बहादुरको सारङ्गी’ अल टाइम ब्लक बस्टर हुँदा केकीको ‘बोक्सीको घर’ले पनि ब्लकबस्टर कमाइ गरेको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’ले ४६ करोडभन्दा माथि केलक्सन गर्दा ‘बोक्सीको घर’ले ११ करोड नजिक कलेक्सन गरेको थियो । ‘पूर्ण बहादुरको सारङ्गी’लाई विजयले लिड गरेका थिए भने ‘बोक्सीको घर’लाई केकीले लिड गरेकी थिइन् ।
२०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने यी दुई कलाकार एउटै चलचित्रमा त्यो पनि लिड रोलमा देखिए भने के होला ? त्यो चलचित्र कस्तो बन्ला ?
यो वर्ष यो अवसर पनि जुर्दैछ अथवा विजय र केकी मुख्य भूमिकामा रहेको चलचित्र दर्शकले हेर्न पाउने भएका छन् । र, यो अवसर जुराउँदैछ ‘जनै हराएको बाहुन’ले । यसको मुख्य भूमिकामा विजय र केकी छन् ।
अहिले छायांकन भइरहेको चलचित्रमा केकी र विजयको अभिनय हेर्न पाइने भएको छ । बलियो लाइनअप रहेको यो चलचित्रमा यी दुई कलाकार एकअर्कोको जोडीका रुपमा छन् अथवा होइन, यो भने निर्माणपक्षले केही खुलाएको छैन ।
‘जनै हराएको बाहुन’मा विजय र केकीसँगै मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ ।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । ‘जनै हराएको बाहुन’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।
निर्देशक न्यौपानेको यो डेव्यु निर्देशन हो । यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
बलियो लाइनअप रहेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने चलचित्रका विमल न्यौपाने निर्माता हुन् ।
चलचित्रका कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् ।
अर्जुन पोखरेल, थानेश्वर गौतम र एस डि योगीको संगीत रहने यस सिनेमामा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यनेजर रहेका छन् ।
सिनेमाको छायांकन नवीन गुरुङले गरिरहेका छन् ।