‘रामायण’का ‘राम’को पशुपतिनाथ दर्शन

काठमाडौँ । नेपाल भ्रमणमा आएका बलिउड अभिनेता तथा लोकसभा सांसद अरुण गोविलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

चर्चित हिन्दी धारावाहिक ‘रामायण’ मा भगवान रामको भूमिका निर्वाह गरेर विश्वभर ख्याति कमाएका भारतीय अभिनेता गोविलले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् ।

पत्नी श्रीलेखा गोविलसहित नेपाल आएका गोविलले पशुपतिनाथ दर्शनपछि आध्यात्मिक शान्ति प्राप्त भएको बताउँदै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आज मलाई भगवान् पशुपतिनाथको पवित्र धाममा दर्शन गर्ने सौभाग्य प्राप्त भयो। महादेवको यो दिव्य भूमिमा पुगेर अद्वितीय आध्यात्मिक शान्तिको अनुभूति भयो । हर हर महादेव ! जय श्री राम !”

रामानन्द सागरद्वारा निर्देशित ‘रामायण’ (१९८७–१९८८) मा रामको भूमिका अभिनय गरेपछि उनलाई घर–घरमा चिनाएको थियो । यो धारावाहिकले भारत र विश्वभरका दर्शकमाझ उनलाई अमर पात्र बनायो ।

हालै रिलिज भएको चलचित्र ‘आर्टिकल ३७०’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका उनले ‘पहेली’, ‘सावन को आने दो’ र ‘हिम्मतवाला’ मा अभिनय गरेका छन् ।

उनको चार दशकभन्दा लामो अभिनय करिअर ‘जागृति’, ‘लव कुश’ जस्ता धारावाहिक र थुप्रै टेलिभिजन विज्ञापनमा पनि काम गरेका छन् ।

उत्तर प्रदेशको मेरठ क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) का लोकसभा सांसद रहेका गोविल अभिनय र राजनीतिमा सक्रिय छन् ।