‘हनी बनी’ अलपत्र पारेका दिवाकरको ‘मायावी’ फ्लप, ‘नरसिंहाः अवतार’ के होला ?

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले दुई वर्षअघि नै निर्माण गरे चलचित्र ‘हनी बनी’ रिलिजको चाइँचुइँ हल्ला पनि छैन । उनले सिनेमाको गीत र केही भाग दृश्य नेपालमा छायांकन गर्न बाँकी रहेको बताएका थिए ।

हालको अवस्था बुझ्दा भट्टराईको ‘हनी बनी’को पोस्टको काम भइरहेको छ या यत्तिकै ‘हार्डडिस्क’मा थन्किएर बसेको छ भन्न सकेका छैनन् ।

छायाकंन भइसकेका दृश्यको पोस्ट प्रोडक्सन भइरहेको समेत बताउन भ्याएका भट्टराईले कुनै समय ‘मायावी’लागि क्यामरा ‘अन’ हुँदा ‘हनी बनी’का बाँकी दृश्य पनि खिच्ने योजना रहेको बताएका थिए ।

उनै निर्देशक भट्टराईले आफ्नै होम प्रोडक्शनमा अभिनेत्री पत्नी दीपिका प्रसाई र अभिनेता पल शाहलाई लिएर ‘मायावी’ बनाएर रिलिज पनि गरे तर, यो सिनेमा सुपर फ्लप सावित भयो । बक्सअफिसमा चलन सकेन ।

चलचित्र विकास बोर्डको बक्सअफिस डाटा अनुसार ‘मायावी’ले ७१ लाख व्यापार गरेको छ । निर्देशक भट्टराईले यो चलचित्रको प्रचारप्रसारका क्रममा ‘मायावी’बाट आफ्नो निर्देशन करिअरको सुरुवात हुने बताएका थिए । न त यो सिनेमालाई दर्शकले पत्याए न त उनले भने जस्तै करिअर ट्रनिङ सावित भयो ।

‘मायावी’ ले बक्सअफिसमा निराशाजनक प्रदर्शन गरेपछि भट्टराईको निर्देशन क्षमता र व्यवसायिक भविष्यमा प्रश्न गरेको छ । जुन सिनेमा उनले ठूलो हौसला लिएर ‘मेरो निर्देशनको नयाँ अध्याय’ भनेका थिए, त्यसले नै उनलाई अलमलमा पारिदिएको छ ।

‘मायावी’बाट सन्तुष्टि लिन नपाएका निर्देशक भट्टराई आफ्नै बोलीलाई समेत अब प्रमाणित गर्नुपर्ने रहेको छ । जसकारण जेठको ९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’ उनी बाट धेरै नै आशावादी छन् । उनी यसबाट आशावादी हुन थप बल ‘महानायक’ राजेश हमाल आठ वर्षपछि सिल्वर स्क्रिनमा फर्किंदैछन् ।

हमालको कमब्याकले सिनेमालाई हाइप त मिलेको छ । तर, दर्शकको मन जित्न अब स्टारकास्ट मात्र हैन, बलियो स्क्रिप्ट, कथामा दम चाहिन्छ ।

विगतका निराशाजनक परिणामपछि ‘नरसिंहाः अवतार’ले दिवाकरलाई दर्शकमाझ पुनः स्थापित गर्न सक्ला या फेरि एकपटक निराशा थप्नेछ, त्यो भने रिलिजपछि नै थाहा हुनेछ । अब हेर्न बाँकी छ ‘नरसिंहाः अवतार’ बाट उनले आफ्नो निर्देशन करिअरलाई पुनः जुरुक्क उठाउन सक्लान् त ?