विराजको ‘१२ गाउँ’को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा, समीरको एक्सन अवतार
अभिनेता विराज भट्टको आफ्नै निर्माण तथा निर्देशनमा निर्माण भइरहेको फिल्म ‘१२ गाउँ’को फस्टलुक पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरिएको छ ।
आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म ‘१२ गाउँ’ यस वर्षको दशैंमा प्रदर्शन हुने घोषणा गरिएको छ । तर, दशैंमा कुन दिनबाट फिल्म प्रदर्शन गरिने भन्ने विषयमा निश्चित भएको छैन ।
यो फिल्मबाट ‘एक्सन स्टार’को रुपमा चिनिएका विराजका छोरा समीर भट्टले डेब्यू गर्दैछन् । फिल्मको फस्टलुकमा उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरको पृष्ठभूमिमा एउटा गाउँ देखिन्छ, जहाँ समीरलाई रिसाहा भावमा देखाइएको छ भने रगताम्मे खुकुरी लिएर कसैमाथि प्रहार गर्न खोजिरहेका देखिन्छन् ।
हाल धमाधम छायांकन भइरहेको यो फिल्मको एउटा एक्सनको छायांकन भारतको मुम्बईमा गर्ने निर्देशक भट्टले जानकारी दिए । उनका अनुसार अबको १० दिनमा फिल्मको छायांकन प्याकअप हुनेछ ।
२०७६ सालमा आएको फिल्म ‘साङ्लो’पछि अभिनय र निर्देशनमा कमब्याक गरेका विराजले ‘१२ गाउँ’ले नेपाली फिल्मको एक्सनलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने विश्वास रहेको बताएका छन्।
नेपाली फिल्ममा रियल एक्सन स्टारका रुपमा परिचित विराजले आफ्नो सोही छविलाई ‘१२ गाउँ’ले अझ एक कदम अगाडि लैजाने बताउँछन् । यही फिल्मबाट डेब्यू गर्न लागेका उनका छोरा समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर डेब्यू गरेका हुन् । समीरले मुम्बईमा किशोर-नमितबाट अभिनय प्रशिक्षण लिएका थिए । फिल्ममा विराज स्वयं पनि मुख्य भूमिकामा देखिने छन् ।
एक्सन-थ्रिलर कथामा बन्न लागेको फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको फिल्मको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा पनि छायांकन गरिनेछ ।
यही फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यू गर्दैछन् । फिल्ममा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
यस फिल्मको वितरणको जिम्मा काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले लिएको छ।