रश्मिका मन्डन्ना : १४ महिनामा एक असफल हुँदा तीन ब्लकबस्टर

काठमाडौं । छोटो समयमै ठूलो सफलता कमाएकी अभिनेत्री रश्मिका मन्डन्नाले दक्षिण भारतीय चलचित्रदेखि लिएर बलिउडसम्म आफुलाई प्रमाणित गरिसकेकी छन् । ‘नेशनल क्रस’को उपाधि पाएकी रश्मिकाले पछिल्ला १४ महिनामा तीन ठूला ब्लकबस्टर सिनेमा दिएर बक्स अफिसमा धूम मच्चाएकी छिन् ।

रश्मिकाको अभिनय यात्रा कन्नड सिनेमा ‘किरिक पार्टी’ (२०१६) बाट सुरु भएको थियो । यही चलचित्रको सेटमा उनले अभिनेता रक्षित शेट्टीसँग प्रेम सम्बन्ध गाँसेकी थिइन् । २१ वर्षको उमेरमा उनीहरूले इन्गेजमेन्ट गरे पनि सम्बन्धमा दरार आएपछि विवाहतर्फको यात्रा अधुरै रह्यो । अहिले २९ वर्ष पुगिसकेकी रश्मिका अझै अविवाहित छिन् ।

हालै, सलमान खानसँगको चलचित्र ‘सिकन्दर’ रिलिज भए पनि त्यो बक्स अफिसमा असफल रह्यो । तर, त्यसअघि उनले १४ महिनाको अन्तरालमा रिलिज भएका तीन सिनेमा ‘एनिमल’, ‘पुष्पा २’ र ‘छावा’ मार्फत बक्स अफिसमा तहल्का मच्चाइन् ।

२०२३ डिसेम्बरमा रिलिज भएको रणवीर कपूरसँगको ‘एनिमल’ ले ९२० करोड रुपैयाँ कमायो, त्यसपछि २०२४ डिसेम्बरमा प्रदर्शन भएको ‘पुष्पा २’ ले विश्वभरबाट १८७१ करोड संकलन गर्‍यो । त्यसैगरी, फेब्रुअरी २०२५ मा विक्की कौशलसँगको ‘छावा’ले पनि ८०७ करोड कमाउँदै उनको सफलताको सिलसिला जारी राख्यो ।

रश्मिकाको जीवनमा प्रेम, संघर्ष र सफलता तीनवटै समानान्तर रुपमा चलेका छन् । इन्गेजमेन्ट टुटे पनि उनले आफ्नो करियरमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । आज उनी भारतकै एक सफल र चर्चित अभिनेत्रीको रूपमा स्थापित भएकी छिन् ।