चलचित्र ‘भूठान’ हेरेर अभिनेत्री स्वस्तिमा खड्काले गरिन् यस्तो प्रशंसा

काठमाडौं । चलचित्र ‘भूठान’ हेरेर अभिनेत्री स्वस्तिमा खड्काले खुलेर तारिफ गरेकी छन् । उनले सिनेमासँगै निर्देशक विनोद पौडेलको खुलेर प्रशंसा गरिन् ।
निकै सुन्दर सिनेमा बनेको उनले बताइन् । हेर्नुभन्दा अगाडि नै आफू ‘भूठान’ हेर्न निकै उत्साहित रहेको उनले बताइन् ।
“फिल्मको कुरा गर्दा फिल्म एकदमै सुन्दर छ । म त विनोद दाइको फिल्म भएर अझै धेरै उत्साहित थिएँ । मैले विनोद दाइसँग पहिला बुलबुलमा काम गरिसकेको थिएँ,” उनले भनिन्, “काम गर्ने शैलीसँगै उहाँले जसरी प्याकेजमा इमोसन लाइनलेस फिल्म ल्याउनुहुन्छ । विकाससम्म क्यारी गर्दै ।”
ढुक्कले हतार नगरी काम गर्ने विनोदको शैली आफूलाई मनपर्ने उनको भनाइ छ । विनोदका सिनेमामा हुने ओपनइन्डेड शैली आफूलाई विशेष लाग्ने उनले बताइन् ।
“उहाँले अडियन्सलाई सबै कुरा छोडिदिनुहुन्छ । अडियन्सलाई जसरी बुझ्नुहुन्छ, त्यसैगरी बुझ्नुस् भनेर छोडिदिनुहुन्छ,” स्वस्तिमा भन्छिन्, “मैले विनोद दाइलाई पनि भनेको थिएँ, फिल्मभन्दा पनि दाइको क्लाइमेक्सलाई हेर्न चाहिँ एकदमै उत्साहित छु ।”
‘भूठान’को क्लाइमिक्स पनि आफूलाई विशेष लागेको उनले सुनाइन् । “दर्शकको हिसाबले मैले पूरै फिल्म हेरिराख्दा अन्तिममा क्लाइमेक्सलाई कसरी बुझ्छु भनेर हेर्न उत्साहित थिए,” उनले भनिन्, “मलाई सुरुदेखि अन्तिमसम्म जसरी रोकेर राख्यो । विनोद दाइ हरेक फिल्म पुनरजन्म हो भन्नुहुन्छ ।”
चलचित्रमा हरिवंश आचार्यको कामले पनि आफूलाई लोभ्याएको उनले बताइन् । “दाइको काम हेर्न उत्साहित थिएँ । सबैजनाको काम एकदमै राम्रो छ,” उनले भनिन्, “प्रिमियरमा आएर हेर्न मन थिएन । म एक्लै गएर हेर्छु भन्ने सोचिरहेको थिएँ । अन्तिम समयमा निश्चलले पनि बिनोद दाइ, हरि दाइले पनि बोलाउनुभएको छ । जाउँ भनेपछि आएँ । मलाई फिल्मको एक्लै बसेर मज्जा लिने मन ।”
समग्रमा ‘भूठान’ आफूलाई निकै राम्रो र सुन्दर लागेको उनले बताइन् । यही वैशाख १२ गतेबाट यो सिनेमा रिलिज हुँदैछ ।
अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रमा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।
हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।
भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ ।
बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।
कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।
चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।