कुन निर्देशकको प्रिय कलाकार को ?

काठमाडौं । नेपाली चलचित्र उद्योग आफैँमा सानो छ । देशको भूगोल, जनसंख्या र अर्थतन्त्रजस्तै सिनेमा उद्योग पनि ठूलो छैन । यो स्वभाविक पनि हो ।

किन भने कुनै पनि देशमा एउटा क्षेत्र अस्वभाविक रूपमा अगाडि र कुनै अस्वभाविक रूपमा पछाडि हुँदैन । हरेक क्षेत्र समानान्तर रूपमा अगाडि बढ्छन् ।

त्यसै भएर नै होला सिनेमा उद्योग पनि सानै छ । पछि नै छ । उद्योग अनुसार नै कलाकार र निर्देशक छन् । सानो बजारमा सानै संख्यामा कलाकार र निर्देशक छन् । थोरै निर्देशक भएपछि कलाकार दोहोरिनु स्वभाविक हो ।

कतिपय निर्देशकका चलचित्रमा त कलाकार दोहोरिरहन्छन् । केहीले आफ्ना बहुसंख्यक चलचित्रमा मुख्य भूमिकामा एउटै अभिनेता लिइरहेका हुन्छन् ।

दीपकराज गिरी र दीपाश्री निरौलाका चलचित्रमा प्रायः केदार घिमिरे (माग्ने बुढा) छुट्दैनन् । आफूले लगानी र निर्देशन गरेका दीपक–दीपाका चलचित्रमा मात्रै होइन उनीहरूको अभिनय रहेका चलचित्रमा पनि केदार हम्मेसी छुट्दैनन् ।
‘छक्का पञ्जा’का सबै सिरिजमा केदार छन् । दीपक–दीपाले काम गरेको ‘छ माया छपक्कै’मा पनि छन् । ‘वडा नम्बर ६’ र ‘६ एकान ६’मा पनि केदार छन् ।

रामबाबु गुरुङका चलचित्रमा प्रायः दयाहाङ राई छुट्दैनन् । ‘कबड्डी’का सबै सिरिजमा दयाहाङ छन् ।

रामबाबुका ‘डिग्री माइला’, ‘पुरानो डुंगा’, ‘सेन्टी भाइरस’, ‘मिस्टर झोले’, ‘अनागरिक’लगायत चलचित्रमा दयाहाङ राई मुख्य भूमिकामा छन् ।

दीपेन्द्र के खनालका धेरै चलचित्रमा खगेन्द्र लामिछाने हुन्छन् । ‘के घर के डेरा ः घर नं २’, ‘मेयर’, ‘पशुपतिप्रसाद’, ‘पशुपतिप्रसाद–२ ः भष्मे डन’, ‘धनपति’लगायत दीपेन्द्रका चलचित्रमा खगेन्द्र छन् ।

दीपेन्द्रले खगेन्द्रसँग अभिनयमा मात्रै होइन कथा लेखन र निर्माणमा पनि सहकार्य गर्दै आएका छन् ।

उपेन्द्र सुब्बाका चलचित्र दयाहाङ राई लगातार अटाइरहेका छन् । उनले अहिलेसम्म निर्देशन गरेका दुईवटा चलचित्रमा दुइटैमा दयाहाङ छन् । ‘जारी’ र ‘मनसरा’मा दयाहाङ राई छन् ।

उपेन्द्रले निर्देशनको तयारी गरिरहेको चलचित्र ‘जारी–२’मा पनि दयाहाङ नै मुख्य भूमिकामा छन् ।

दिनेश राउतका चलचित्रमा आर्यन सिक्देल पनि बाक्लै रूपमा देखिँदै आएका छन् । दिनेशका ‘नोभेम्बर रेन’, ‘क्लासिक’मा आर्यन मुख्य भूमिकामा छन् ।

यस्तै दिनेशका ‘पुजार सार्की’, ‘महाभोज’मा पनि आर्यनको अभिनय छ ।

सन्तोष सेनका पनि बहुसंख्यक चलचित्रमा प्रदीप खड्का छन् । निर्माताका रूपमा रहेका र पछिल्लोपटक उनले निर्देशन गरेको चलचित्र ‘प्रेम गीत–३’मा प्रदीप छन् । ‘प्रेम गीत’ र यसको दोस्रो सिरिजमा पनि प्रदीप थिए । यी चलचित्रमा भने सन्तोष निर्माता थिए ।

उनले निर्देशन गरिरहेको चलचित्र ‘बलिदान’मा भने प्रदीप छैनन् ।

प्रदीप भट्टराईका चलचित्रमा विपीन कार्की बढी देखिएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘महाजात्रा’ प्रदीप भट्टराईले निर्देशन गरेका चलचित्र हुन् ।

‘जात्रा’को श्रृंखला भएकाले पनि होला प्रदीपका चलचित्रमा विपीन धेरै देखिएका छन् ।

तर, ‘जात्रा’ देखि बाहिरका प्रदीपका चलचित्रमा भने विपीन छैनन् ।

दीपेन्द्र लामाका चलचित्रमा दयाहाङ राई छुट्दैन् । दीपेन्द्रको अधिकांश चलचित्रमा दयाहाङ छन् ।

दीपेन्द्रको ‘घामपानी’, ‘नाङ्गो गाउँ’, ‘दुई नम्बरी’ र ‘दुखी आत्मा’मा दयाहाङ राई मुख्य भूमिकामा छन् ।

दीपक रौनियारका चलचित्रमा दयाहाङ राई छुट्दैनन् । दीपकका फिचर फिल्मदेखि सर्ट फिल्मसम्ममा दयाहाङ हुन्छन् ।

दीपकले हालसम्म तीनवटा फिचर फिल्म ‘हाइवे’, ‘ह्वाइट सन्’ र ‘राजागञ्ज’ निर्देशन गरेका छन् । यी तीनवटै सिनेमामा दयाहाङ छन् ।