श्वेता खड्काको लापरबाहीले ५५ माझी परिवार कालोसूचीमा पर्‍यो- सांसद माझी

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले अभिनेत्री श्वेता खड्कामाथि सिन्धुपाल्चोकका माझी समुदायलाई अन्याय गरेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद माझीले भूकम्पबाट क्षतिग्रस्त बनेको माझी बस्तीको पुनर्निर्माणका लागि सुरु गरिएको अभियान श्वेताले आधामै छोडेको आरोप लगाएकी हुन् ।

सांसद माझीका अनुसार वाचा अनुसार घर निर्माण पूरा नभएपछि माझी परिवारहरू अझै अस्थायी टहरामै बस्न बाध्य छन् । भूकम्पपछि जीवन पुनर्निर्माणको सपना देखेका माझी समुदाय अहिले ठूलो अन्याय र पीडामा परेको सांसद माझीको भनाइ छ ।

सांसद माझीले भनिन्, “पुनर्निर्माणका लागि श्वेता खड्काले बस्तीलाई आश्वासन दिए पनि काम अधुरो छाडेपछि ५५ घरपरिवार बाध्य भएर विस्थापित हुन पुगेका छन् । दिएको वचन पूरा नगरी काम बीचमै रोक्दा पूरा बस्ती नै कालोसूचीमा पर्‍यो ।”

“व्यक्तित्वको हिसाबले श्वेता खड्का सम्मानित व्यक्ति हुनुहुन्छ। अझ कलाकारिताको क्षेत्रबाट हेर्दा हेर्दाखेरि उहाँ राष्ट्रको गहना पनि हुनुहुन्छ । हामी सम्मान पनि गर्छौँ तर सभामुख महोदय सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ रहेको ५५ घर माझी बस्तीलाई म निर्माण गर्छु भनेर ७२ सालको भूकम्पपछि पुन निर्माणको प्रक्रियामा उहाँले सेवामूलक ढंगले आफ्नो नाममा ‘श्री श्वेता खड्का फाउन्डेसन’ संस्था निर्माण गरी सहयोग गर्छु भन्ने उद्देश्यले उहाँले घर निर्माण गरिदिनुभयो तर आज उहाँकै कारणले गर्दाखेरि ५५ घर धुरी माझी बस्तीहरू समुदायका नागरिक आज बैंकको कालोसूचीमा परेर बस्ती नै एउटा लिलामको अवस्थामा पुग्ने परिस्थिति सिर्जना भएको छ। उहाँले सेवाको भावनाले गर्नुभयो तर हामी नराम्रो मान्दैनौँ, उहाँले जुन किसिमको सेवा देखाउन खोज्नुभयो त्यसलाई पूरा गर्न सक्नुभएन । उहाँले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुभएन आज त्यहाँका माझी बस्तीहरू कति बेला बैंकले कति बेला हामीलाई पक्डिन्छ भनेर त्रासको अवस्थामा त्यहाँबाट विस्थापित भइरहेको अवस्था छ,” उनले भनिन् ।

०७२ वैशाख १२ र २९ गतेको विनासकारी भूकम्पले सिन्धुपाल्चोक क्षतविक्षत बनेको थियो । २०७४ साल माघमा श्वेताले माझीबस्ती निर्माणको औपचारिक घोषणा गरेकी थिइन् । घोषणाको तीन वर्ष बितिसकेको छ तर उनले बस्ती हस्तान्तरण गर्न सकेकी छैनन् ।