चलचित्र बन्ने क्रम दुई गुणा, फ्लप हुने क्रम चार गुणा नहोस्

काठमाडौं । गतवर्ष ‘पूर्णबहादुरको सारंगी’को अकल्पनीय तथा समीर भट्टको धमाकेदार इन्ट्रीले नेपाली वक्सअफिसले एउटा अभूतपूर्व फड्को मार्यो । यसमा ‘छक्का पञ्जा ५’, ‘वोक्सीको घर’, ‘अञ्जिला’लगायत चलचित्रको उल्लेखनीय योगदान रह्यो ।
एउटै चलचित्रको कमाइ ४६ करोडभन्दा माथि रह्यो । यो कमाइ गत वर्षका लागि मात्र होइन, आगामी दशकसम्मका लागि पनि आंकलन गरिएको कमाइ थिएन । ‘भूतो त न भविष्य’को व्यापार देखेर निर्माता, वितरक, प्रदर्शकमात्र हैन ‘देश नै हेरेको हेर्यै’ भए ।
यसले नयाँ–पुराना र डेब्यु निर्माणको पर्खाइमा रहेका निर्माताहरूको यस्तै कमाइ गर्ने रुमानी कल्पनालाई बढाइदिएको छ । त्यसको नतिजा चलचित्र विकास बोर्डमा फिल्म निर्माणको इजाजत लिनेको लर्को छ, फ्लोरमा पनि ठूलो संख्यामा चलचित्रको एक्सनकट भइरहेको छ ।
अहिले चलचित्रमा लगानी खन्याउनेको कुनै कमी छैन । कलाकार, प्राविधिक सबलाई भ्याइनभ्याइ छ ।
चलचित्र विकास बोर्डको तथ्यांक अनुसार इतिहासमै सर्वाधिक संख्यामा फिल्म दर्ता भएका छन् ।
बितेका दशककै उच्च संख्यामा निर्माण इजाजत लिइएको बोर्डको तथ्यांकले देखाउँछ । दशकलाई सरसर्ती पुनरावलोकन गर्दा २०७० मा १७७ वटा, २०७१ मा घटेर १३६, २०७२ मा १३९, २०७३ मा १९३, २०७४ र २०७५ सालमा १९२–१९२ दर्ता भए भने २०७६ मा १६७, २०७७ मा ८६, २०७८ मा ७९, २०७९ मा १२१ र २०८० मा १५० वटा फिल्म दर्ता भएका छन् ।
२०८२ सालमा नेपाली वक्सअफिसमा हरेक सातामा औसतमा २ नेपाली चलचित्र रिलिज हुनेछन् । उस्तै अवस्थामा बिदाको समयमा यो संख्या ४ को हाराहारीमा पुग्ने देखिन्छ । यो विदेशी फिल्मको संख्या समावेश नगर्दाको हो । यो सामग्री लेखिरहँदा नेपाली हलहरूमा देशी–विदेशी गरेर १२ फिल्म प्रदर्शन भइरहेको छ ।
‘पूर्णबहादुरको सारंगी’ले नेपाली फिल्मको व्यापारको आयतनको विस्तार देखाइदिए पनि यो वर्षका सुरुआती सूचकहरू निराशाजनक छन् ।
२०८१ सालको अन्तिम रिलिज ‘पिताम्बर’ र ‘कर्मा’ले आशातित सुखद समापन दिन सकेनन्, जहाँ ‘कर्मा’को अवस्था दयनीय रह्यो । यति न्यून व्यापार होला भन्ने कसैले सोचेका थिएनन् । यो चलचित्र हलबाट उत्रिसकेको छ ।
शुक्रबारबाट दुई नेपाली चलचित्र ‘भूठान’ र ‘खेल’ रिलिज भए । दुबै चलचित्रको बक्सअफिसमा कठिन संघर्ष गरिरहेका छन् । कुनै तिलस्मी चमत्कार भए अर्कै कुरा, नत्र यी चलचित्र ‘फ्लप’को सूचीमा चढिसके । अर्थात नेपाली बक्सअफिसले दुर्दान्त सुरुआत गरेको छ ।
आगामी शुक्रबार यादव भट्टराई निर्देशित ‘झिल्को’ रिलिज हुँदै छ । बाबु–आमाका बालबालिकाको मोबाइल लतमा आधारित चलचित्रको ट्रेलर र गीत सार्वजनिक भइसकेका भए पनि प्रचारप्रसारमा सन्नाटा छ । चलचित्रले हाइप बनाउन सकेको छैन ।
त्यसपछिका रिलिजमा ‘जार’ र ‘उनको स्वीटर’मा एक प्रकारको आकर्षण देखिएको छ । आकर्षणको दर्शक रूपान्तरण कुन तहमा हुन्छ त्यो रिलिजपछि थाहा हुने नै छ ।
चलचित्रको संख्या बढिरहेको सन्दर्भमा कस्तो र कस्ता फिल्म चल्छन् भन्ने प्रश्न खडा भइरहेको छ ।
गत वर्षको प्रदर्शन हेर्ने हो भने जनरामा दर्शकले भेदभाव नगरेको पाइएको छ । सामाजिक कथा पनि चले, पारिवारिक कथा पनि चले भने मसलेदार एक्सन, समुदाय विशेष सबैखाले चलचित्रले राम्रो व्यापार गरे ।
तर, रिलिज भएका अधिकांश चलचित्रले दर्शक रिझाउन सकेनन् । अधिकांश आफ्नो कथा पस्काइमा पर्दामा कमजोर देखिए । कथा छनोट जति महत्वपूर्ण हो, कथा वाचन त्यो भन्दा बढी महत्वपूर्ण हुँछ । तर, अधिकांश निर्देशकमा कथा वाचनको क्षमता कमजोर रह्यो ।
रोचक त के छ भने सर्वाधिक वक्सअफिस कमाइ भएको वर्षको टप टेन कमाउने सूचीका केही फिल्म फ्लपको सूचीमा दरिए । त्यो सूचीमा पनि केही चलचित्रमाथि लाखौँको टिकट किनेको चर्चासमेत नेपाली रजतपटमा व्याप्त छ ।
यस परिस्थितिमा यो वर्ष धेरै फिल्म असफल हुने जोखिम बढेको छ । यसको लागि कमजोर कथावाचन एउटा प्रमुख कारण हुनेछ भने अर्को कारण निश्चित बिदाका मिति ‘हान्ने हो’ भन्ने हुने देखिएको छ ।
हाल देशभर १६५ वटा पर्दा उपलब्ध छ, जहाँ वर्षको अन्त्यसम्म केही पर्दा थपिने निश्चित छ । चलचित्रका लागि बजार छ तर बजारका लागि फिल्म नभएको अनुभूति बितेका दुई दशकदेखि नेपाली चलचित्र बजारले राम्रैसँग महसुस गर्दै आइरहेको छ ।
गत वर्ष अनुहार नबिकेको र कथा बिकेको वर्ष हो । यो वर्ष पनि अनुहारभन्दा कथा नै बिक्री हुने सम्भावना छ । त्यसकारण जसले कथावाचनमा आफ्नो शिल्प देखाउनेछ, उसैका चलचित्र चल्नेछ ।
अन्यथा यो वर्ष निर्माण गति जसरी बढेको छ, चलचित्र फ्लप हुने अनुपात त्यसको दोब्बर हुने चिन्ता बढेको छ ।