प्रदर्शनको ५१औँ दिनको तयारीमा रहेको ‘अञ्जिला’ले कति कमायो ?

काठमाडौं । चलचित्र ‘अञ्जिला’ प्रदर्शनको ५१औँ दिन मनाउने तयारीमा छ । सातौँ हप्तामा प्रवेश गरेको सिनेमाले ४० शो कायम राखेको छ ।

अझै पनि दर्शकको रोजाइमा ‘अञ्जिला’ रहेको निर्देशक मिलन चाम्सले बताएका छन् । हालसम्म यो सिनेमाले १० करोडको आंकडा पार गरिसकेको वितरक करण श्रेष्ठले जानकारी दिएका छन् ।

यसैबीच, यो सिनेमा भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा विशेष रूपमा प्रदर्शन भएको छ । नगर प्रमुख कैलाश कुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउन्ड सिस्टमयुक्त नगरपालिका हलमा चलचित्र ५०० दर्शकको सहभागितामा चौथो पटक प्रदर्शन भएको निर्देशक चाम्सले बताए ।

आठौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप’को अवसरमा गरिएको यस विशेष शोबाट उठेको मुनाफा चलचित्रकी मुख्य पात्र एन्जिला तुम्बापो सुब्बाको घर निर्माणमा खर्च गरिने पनि निर्देशकले जानकारी गराए ।

नगर प्रमुख आलेले एन्जिलाको घर निर्माणका लागि नगरपालिकाको तर्फबाट ५० हजार नगद सहयोग गर्ने घोषणा पनि गरे ।

‘अञ्जिला’ले वैशाख १९ गते चलचित्र प्रदर्शनको ५१ औँ दिन विशेष सेलिब्रेसन कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

फागुन २९ गते प्रदर्शनमा आएको भए पनि ‘अञ्जिला’ ले वर्ष २०८१ को उत्कृष्ट पाँच चलचित्रको सूचीमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित यो चलचित्रमा एन्जिला आफैँले प्रमुख भूमिका निर्वाह गरेकी छन् ।

‘अञ्जिला’मा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।