निर्देशक साजिद माथि हिराेइनकाे गम्भीर आरोप, भनिन्- ‘घरमा बोलाएर कपडा उतार्न लगाइयो’

काठमाडौं । बलिउडका चर्चित निर्देशक साजिद खान फेरि विवादमा मुछिएका छन् । बारम्बार विवादमा पर्ने गरेका निर्देशक साजिद अभिनेत्री नवीना बोलेले घरमा बोलाएर कपडा उतार्न लगाएको आरोप लगाएकी हुन् ।

हालै टेलिभिजन शो ‘इश्कबाज’ र ‘मिले जब हम तुम’ मा देखिएकी अभिनेत्री नवीना बोलेले साजिदविरुद्ध गम्भीर आरोप लगाएकी छन् ।

अभिनेत्री नवीनाले एक अन्तर्वार्तामा निर्देशक साजिदलाई ‘फोहोरी मान्छे’ भन्दै, उनले फिल्म उद्योगका अन्य व्यक्तिहरूसँग मिलेर धेरै महिलाको अपमान गरेको आरोप लगाइन् ।

नवीनाले साजिदसँगको भेटको अनुभव साझा गर्दै भनिन्, ‘मलाई आफ्नो घरमा बोलाएर उनले भने, ‘अब लुगा खोल्,’ उनले थपिन्, ‘साजिद खान एकदम डरलाग्दो व्यक्ति हुन्, जसलाई म जीवनमा फेरि कहिल्यै भेट्न चाहन्न । उनले हाम्रो निरन्तर पछ्याउँथे र महिलाको सम्मान गर्ने कुनै भावना थिएन ।’

अभिनेत्रीका अनुसार, ‘हे बेबी’ फिल्मको कामका क्रममा साजिदले उनलाई फोन गरेका थिए । ‘त्यति बेला म निकै उत्साहित थिएँ,’ उनले भनिन्, “तर जब म उनको घर पुगे, उनले मलाई अन्डरगार्मेन्टमै बस्न आग्रह गरे र मेरो सहजता जाँच्न चाहेको बताए ।’

नवीनाले यो घटनाका बेला आफू सुरक्षित रूपमा निस्किन सकेकोमा राहत व्यक्त गरिन् । उनले भनिन्, ‘सौभाग्यवश, कोही तल पर्खिरहेको थियो, जसले मलाई त्यहाँबाट निस्कन मद्दत गर्‍यो ।’

साजिद खानले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।